लोड हुँदैछ...

मेनु

एक वर्षमा ११ हजार बढी पर्यटक पुगे कोशी टप्पु

एक वर्षमा ११ हजार बढी पर्यटक पुगे कोशी टप्पु

धरान । जैविक विविधता, दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी अवलोकनका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षको अवधिमा ११ हजारभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटक पुगेका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा कुल ११ हजार ६०३ पर्यटकले आरक्ष भ्रमण गरेका हुन् । तीमध्ये ५ हजार ९२४ महिला र ५ हजार ६७९ पुरुष रहेका छन् ।

आरक्ष भ्रमण गर्नेमा अधिकांश आन्तरिक पर्यटक रहेका छन् । तथ्यांकअनुसार ११ हजार २१४ जना नेपाली पर्यटकले आरक्ष भ्रमण गरेका छन् । यस्तै, सार्क राष्ट्रबाट ८७ जना तथा अन्य मुलुकबाट ३०२ विदेशी पर्यटक पुगेका छन् ।

आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार सबैभन्दा बढी पर्यटक २०८१ साल पुस महिनामा पुगेका थिए । उक्त महिनामा मात्रै एक हजार ४५७ जनाले आरक्ष भ्रमण गरेका थिए । फागुनमा एक हजार ६९३ र चैतमा एक हजार ६२४ पर्यटक पुगेका थिए ।

वि.सं. २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी र सप्तरी जिल्लाभित्र फैलिएको छ । सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा रहेको आरक्ष जङ्गली भैँसी (अर्ना) का लागि प्रसिद्ध छ । नेपालमा रैथाने अर्ना पाइने यो एक मात्र संरक्षित क्षेत्र हो ।

आरक्षभित्र सिसौँ–खयरका जंगल, बसाइँसराइ गर्ने चराचुरुङ्गी, दुर्लभ खरमयुर, घडीयाल, मगरगोही तथा डल्फिन पाइन्छन् । चराचुरुङ्गीको उच्च विविधताका कारण कोशी टप्पुलाई ‘चराहरूको राजधानी’ समेत भनिन्छ ।

सन् १९८७ देखि रामसार सूचीमा सूचीकृत आरक्ष पक्षी अवलोकन, अनुसन्धान तथा प्राकृतिक पर्यटनका लागि स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको आरक्ष प्रमुख यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।