विराटनगर । कोशी प्रदेश सरकारले घोषणा गरेपनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि अब दुई वर्षे ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ सञ्चालन गरिने उल्लेख छ ।
यसअघि प्रदेश सरकारले २०८२ लाई ‘पर्यटन वर्ष’ घोषणा गरेको थियो । तर, कार्यक्रम करिब घोषणामै मात्र सीमित भयो । पर्यटक आगमन र पर्यटन व्यवसायमा उल्लेख्य सुधार नदेखिएपछि सरकारले अब अवधि नै लम्ब्याएर दुई वर्षे भ्रमण वर्ष घोषणा गरेको हो ।
नीति तथा कार्यक्रममा पर्यटनलाई आर्थिक विकासको मेरुदण्डका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘कोशी प्रदेश एकीकृत पर्यटन विकास गुरुयोजना’ तर्जुमा गरिने उल्लेख छ । आन्तरिक, अन्तरप्रदेश तथा विदेशी पर्यटक लक्षित गतिविधि सञ्चालन गरी पर्यटन क्षेत्र चलायमान बनाउने सरकारको योजना छ ।
सरकारले गैरआवासीय नेपाली र नेपाली मूलका विदेशी समुदायलाई लक्षित गर्दै ‘नेपाली मन, आत्मीयपन’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । यसमार्फत नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र भूगोलसँग भावनात्मक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ ।
नीति तथा कार्यक्रममा कोशी प्रदेशका सम्भावित ‘हिलस्टेशन’ पहिचान र विकास गर्ने, निजी क्षेत्रसँग सहकार्य गरेर ‘आरोग्य रिट्रिट’, ‘साधना ग्राम’, ‘वेलनेस हब’ तथा हिमाली क्षेत्रमा ध्यान केन्द्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख छ ।
प्रदेश सरकारले प्रमुख पर्यटन गन्तव्य, पदमार्ग र होमस्टेमा स्थानीय उत्पादनको प्रयोग बढाएर रोजगारी सिर्जना गर्ने योजना पनि अघि सारेको छ । साहसिक पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रियस्तरको सीप परीक्षण तथा प्रमाणीकरण प्रणाली लागू गर्ने नीति लिइएको छ ।
छ हजार मिटरभन्दा कम उचाइका हिमाल आरोहणको अनुमति तथा व्यवस्थापन प्रदेश सरकार मातहत ल्याउन संघीय सरकारसँग समन्वय गरिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा अर्जुनधारा, दुधकुण्ड, किच्चकवध, लारुम्बा, विराट दरबार क्षेत्र, बर्जुताल, मुन्धुम ट्रेल, कन्याम, श्रीअन्तु, सन्दकपुरलगायत धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई निरन्तरता दिने जनाइएको छ ।
त्यस्तै ‘चारधाम सर्किट’, ‘शिव सर्किट’ र ‘महाभारत सर्किट’ जस्ता धार्मिक परिपथ विकासको सम्भाव्यता अध्ययन गरिने भएको छ । चतरा–बराहक्षेत्रलाई व्यवस्थित कुम्भक्षेत्रका रूपमा विकास गर्ने योजना पनि सरकारले अघि सारेको छ ।
प्रदेश सरकारले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न संघीय सरकारसँग समन्वय गर्ने जनाएको छ । साथै कोशी प्रदेशबाट पोखरा र भैरहवासम्म अन्तरप्रदेश हवाई उडान सञ्चालन तथा पर्वतीय उडान विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य गरिने नीति कार्यक्रममा उल्लेख छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।