लोड हुँदैछ...

मेनु

विराटनगरमा सट्टेबाजीका आरोपीलाई प्रहरीले विना अनुसन्धान नै छाड्यो

विराटनगरमा सट्टेबाजीका आरोपीलाई प्रहरीले विना अनुसन्धान नै छाड्यो

विराटनगर । विराटनगरमा सट्टेबाजी (जुवा) को आरोपमा पक्राउ परेका चार जना लाई प्रहरीले कुनै कानुनी प्रक्रिया र अनुसन्धान विना नै छोडेको छ । मंगलवार राति विराटनगरको एक गजल रेष्टुरेन्टबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले सामान्य सोधपुछका भरमा उन्मुक्ति दिएको हो ।

पक्राउ पर्नेहरूमा विराटनगरका चर्चित सट्टेबाजका रूपमा चिनिएका राजेश साह, अथर अन्सारी, अफ्रोज खान र संजय थापा रहेका थिए । उनीहरूलाई मंगलबार राति ११ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये राजेश साह यसअघि पनि पटक–पटक सट्टेबाजीकै आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

सामान्यतया जुवातास वा सट्टेबाजीको घटनामा पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानुनी प्रावधान छ । तर, यसपटक भने मोरङ प्रहरीले उनीहरूलाई कुनै मुद्दा नचलाई बुधबार साझमा नै छाडिदिएको स्रोतले जनाएको छ ।

यस विषयमा मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) लिला राज लामिछानेले आफूलाई कुनै जानकारी नभएको बताएका छन् । उनले भने, ‘यस विषयमा मलाई केही थाहा छैन, सायद एसपी सापलाई जानकारी होला ।’ प्रहरीले यो घटनाका बारेमा कुनै पनि आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

पछिल्लो समय इन्डियन प्रिमियर लिग (आईपीएल) लाई लक्षित गरी विराटनगरमा अनलाइन र विभिन्न नेटवर्कमार्फत ठूलो रकमको सट्टेबाजी हुने गरेको स्रोतको दाबी छ । सट्टेबाजीमा संलग्न प्रख्यात व्यक्तिहरूलाई नै विना अनुसन्धान छाडिएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

प्रहरीले सट्टेबाजहरूलाई नियन्त्रणमा लिएर पनि गुपचुप छाड्नुले आर्थिक चलखेल वा राजनीतिक दबाब हुनसक्ने आशंका गरिएको छ । विराटनगरमा मौलाउँदै गएको अनलाइन सट्टेबाजीका कारण युवाहरू जोखिममा परिरहेका बेला प्रहरीको यस्तो कदमले सट्टेबाजहरूको मनोबल झन् बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।