लोड हुँदैछ...

मेनु

इटहरीमा विद्यालय स्तरीकरणको तयारी

इटहरीमा विद्यालय स्तरीकरणको तयारी

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले निजी विद्यालयको स्तर निर्धारण (स्तरीकरण) प्रक्रिया अघि बढाएको छ ।

विद्यालयले उपलब्ध गराउने सेवा–सुविधा, पूर्वाधार, जनशक्ति र शैक्षिक गुणस्तरका आधारमा वर्गीकरण गरी सोही अनुसार शुल्क निर्धारण गर्ने तयारी गरिएपछि निजी विद्यालय सञ्चालकहरू दबाबमा परेका छन् ।

उपमहानगरले तीन दिनको समयसीमा तोकेर विद्यालयहरूलाई आवश्यक विवरणसहित फाराम बुझाउन सूचना जारी गरेको थियो । तरm छोटो समयका कारण अधिकांश विद्यालयले कागजात संकलन गर्न नसकेको भन्दै समय थपको माग गरेपछि उपमहानगरले एक साताको म्याद थप गरेको छ ।

नगरप्रमुख हेमकर्ण पौडेलको कार्यकक्षमा बसेको सर्वपक्षीय बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । बैठकमा उपप्रमुख सङ्गीता चौधरी, प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा, प्याब्सन इटहरी नगर अध्यक्ष सूर्यमणि निरौला, एनप्याब्सन नगर अध्यक्ष पुण्यप्रसाद अधिकारी, हिसान इटहरी नगर संयोजक केशव भट्टराई तथा शिक्षा शाखाका अधिकारीहरूको सहभागिता थियो ।

उपमहानगरका अनुसार हालसम्म करिब एक दर्जन विद्यालयले मात्र वर्गीकरण फाराम बुझाएका छन् । इटहरीमा अहिले १३९ वटा निजी विद्यालय सञ्चालनमा छन् । अब थपिएको समयभित्र सबै विद्यालयबाट विवरण संकलन गरी एकमुष्ट अनुगमनपछि अन्तिम वर्गीकरण गरिनेछ ।

उपमहानगरले ६५ वटा सूचकका आधारमा विद्यालयको मूल्यांकन गर्ने तयारी गरेको छ । शिक्षा शाखाका अधिकृत पुष्कर गौतमका अनुसार यसपटक भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरसम्मका सबै विषयलाई कडाइका साथ मूल्यांकन गरिनेछ ।

“विद्यालयहरूले शुल्क निर्धारण नगरी मनपरी शुल्क उठाइरहेका गुनासा बढेका छन् । अभिभावकका गुनासा समाधान हुने गरी यो प्रक्रिया अघि बढाइएको हो,” गौतमले बताए । उपमहानगरको नयाँ मापदण्डअनुसार विद्यालयले आफ्नो वर्गअनुसार तोकिएकोभन्दा बढी शुल्क उठाएको पाइए अभिभावकलाई रकम फिर्ता गर्नुपर्ने अवस्था आउन सक्छ ।

निजी विद्यालय सञ्चालकहरूले भने हालको शुल्क संरचना व्यवहारिक नभएको भन्दै शुल्कमा १५ प्रतिशत वृद्धि गर्न माग गरेका छन् । उनीहरूले तीन वर्षअघिको शुल्क दर अहिलेको आर्थिक अवस्थासँग मेल नखाने तर्क गरेका छन् ।

उपमहानगरले यसअघि तय गरेको शुल्क संरचनाअनुसार ‘क’ वर्गका विद्यालयले मासिक २ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था छ । ‘ख’ वर्गका विद्यालयले १ हजार ८५० देखि ३ हजार ७५० रुपैयाँ, ‘ग’ वर्गले १ हजार २५० देखि २ हजार ५०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ । हाल इटहरीमा ‘क’ वर्गका १९, ‘ख’ वर्गका ५३, ‘ग’ वर्गका ३१ र ‘घ’ वर्गका २८ विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।