लोड हुँदैछ...

मेनु

झापामा निर्माण व्यवसायीद्वारा विकास निर्माणका काम ठप्प

झापामा निर्माण व्यवसायीद्वारा विकास निर्माणका काम ठप्प

विर्तामोड । पेट्रोलियम पदार्थ, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको चर्को मूल्यवृद्धिको विरोध गर्दै झापाका निर्माण व्यवसायीहरूले जिल्लाभरका सरकारी विकास–निर्माणका काम ठप्प पारेका छन् ।

सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्यबृद्धिकोक कारण लागत अत्यधिक बढेकाले पुरानै सम्झौताअनुसार काम गर्न असम्भव भएको भन्दै व्यवसायीहरूले आन्दोलन थालेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलन कार्यक्रमअनुसार निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय झापासहित विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् । संघका अध्यक्ष रमेश अधिकारीले सरकारसमक्ष पटक–पटक मूल्य समायोजनको माग राख्दा पनि कुनै सुनुवाइ नभएकाले बाध्य भएर काम रोक्नुपरेको बताए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सिमेन्ट, डण्डी, गिट्टी, बालुवा लगायत निर्माण सामग्री तथा ढुवानी खर्च आकासिँदा पुरानो दररेटमा काम गर्दा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने अवस्था आएको व्यवसायीको भनाइ छ । अध्यक्ष अधिकारीको नेतृत्वमा प्रथम उपाध्यक्ष केदार गिरी, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह–कोषाध्यक्ष सुरेन्द्र धिमाललगायत निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय झापामा सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाएपछि व्यवसायीहरूले प्रशासन परिसरमै धर्ना दिएका थिए । त्यसपछि र्यालीसहित सिँचाइ विकास डिभिजन कार्यालय झापा, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय तथा जिल्ला पूर्वाधार कार्यालयमा पुगेर समेत ज्ञापनपत्र बुझाइएको थियो ।

निर्माण व्यवसायी संघका महासचिव पुष्पराज निरौलाले अहिलेको अवस्थामा काम नगरेको बहानामा कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने जस्ता चेतावनीपूर्ण पत्रहरू सरकारी निकायबाट आउन थालेको बताए । उनले मूल्य समायोजनबिना काम सम्भव नरहेको स्पष्ट पारे ।

‘सबैखाले निर्माण सामग्रीको मूल्य झन्डै दोब्बर भएको छ । यस्तो अवस्थामा व्यवसायीले आफ्नो सम्पत्ति बेचेर पनि काम सम्पन्न गर्न सक्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।