विराटनगर । कोशी प्रदेशका सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।
धरान–८ साम्पाङ चौकबाट प्रहरीले ट्रामाडोल क्याप्सुल र डिकोलिक ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको हरिनगर–६ का २१ वर्षीय अंजक अन्सारी र हरिनगर–७ का १८ वर्षीय अब्दुल वाहिद अन्सारी रहेका छन् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले उनीहरूको साथबाट ट्रामाडोल २ हजार क्याप्सुल र डिकोलिक २ हजार ट्याब्लेट बरामद गरेको जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले झापाको बिर्तामोड–५ शनिश्चरे रोडस्थित पाथीभरा टोलबाट बिर्तामोड–१ का १९ वर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम र आस्पाम ४ ट्याब्लेटसहित पक्राउ गरेको छ ।
सोमबार राति बिर्तामोड–५ इन्द्रेणी टोलबाट ३५ वर्षीय हरसिंह राजवंशी, २१ वर्षीय राजु राजवंशी, बिर्तामोड–६ का ४४ वर्षीय सन्तोषकुमार पराजुली र बिर्तामोड–९ का २२ वर्षीय प्रशान्त खड्कालाई ब्राउन सुगर १९० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेचीनगर–६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीबाट मेचीनगर भानुटोलका ३८ वर्षीय जीवन घिमिरेलाई ब्राउन सुगर ११ ग्राम २०० मिलिग्रामसहित पक्राउ गरेको छ ।
उता, इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक–६ बसपार्कबाट दमक–१ की २७ वर्षीया विमला दाहाललाई ब्राउन सुगर ६ ग्राम ८४० मिलिग्रामसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।