काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार १५ मिनेटका लागि स्थगित भएको छ । प्रि–बजेट छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बैठकमा अनुपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।
बैठकमा प्रि–बजेटमाथिको छलफल जारी रहँदा नेकपा (एमाले)का सांसद राजेन्द्र राईले अर्थमन्त्री उपस्थित नभएसम्म आफ्ना धारणा नराख्ने अडान लिएपछि संसदमा केहीबेर अवरोधको अवस्था सिर्जना भएको थियो । सभामुख अर्यालले अर्थमन्त्री आउँदै गरेको भन्दै बोल्न आग्रह गरे पनि राईले अस्वीकार गरेपछि बैठक १५ मिनेटका लागि रोकिएको हो ।
यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पनि अर्थमन्त्री अनुपस्थित रहेकोप्रति आपत्ति जनाएका थिए । उनले २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीबिनै प्रि–बजेट छलफल भएको देखेको भन्दै संसदको औचित्यमाथि प्रश्न उठाए ।
‘बजेट अर्थमन्त्रीले बनाउने प्रणाली छ । नयाँको नाममा सबै परम्परा भत्काउने काम हुनु हुँदैन,’ सिंहले भने, ‘संसदीय व्यवस्था मान्ने हो भने मन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ ।’
सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल बैठकमा उपस्थित भए पनि विपक्षी सांसदहरूले अर्थमन्त्रीकै उपस्थितिमा मात्र प्रि–बजेट छलफल अगाडि बढाउनुपर्ने माग गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।