काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीमाथि लागेको गम्भीर आरोप प्रतिनिधि सभा बैठकमै उठेको छ ।
नाइजेरियाकी एक महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रतिपक्षी सांसदहरूले सरकार र सदनको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेपाल कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले उक्त विषय उठाउँदै सत्यतथ्य सार्वजनिक गर्न माग गरे । सांसद विकले सत्तारुढ दलका सांसदसँग जोडिएको घटनाबारे सदन स्पष्ट हुनुपर्ने बताइन् ।
‘सत्तारुढ पार्टीका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल छ, यथार्थ घटना के हो ? सदन स्पष्ट हुन चाहन्छ,’ उनले भनिन् । त्यस्तै सांसद कर्णले विदेशी महिलालाई प्रेमजालमा पारेर भावनात्मक ब्ल्याकमेल गरिएको आरोप लगाउँदै महिलाको सम्मानबारे प्रश्न उठाइन् । उनले घटनाबारे यथाशीघ्र स्पष्ट पार्न माग गरिन् ।
विवाद सार्वजनिक भएसँगै सांसद कार्की संसद बैठकमा अनुपस्थित छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्न नाम टिपाएका उनलाई सभामुख डोलप्रसाद अर्यालले तीन पटकसम्म बोलाए पनि उनी सदनमा उपस्थित भएनन् । त्यसपछि सभामुखले अर्को सांसदलाई बोल्ने समय दिएका थिए ।
कार्कीले नाइजेरियाकी २६ वर्षीया युवतीलाई गर्भवती बनाएपछि सम्पर्कविहीन भएको आरोप छ । ती महिलाले कार्कीसँग ‘लिभिङ रिलेसन’ मा रहेको, गर्भवती भएपछि बेवास्ता गरिएको तथा अहिले आर्थिक र मानसिक समस्यामा परेको दाबी गरेकी छन् ।
कार्की यसअघि पनि जेन–जी आन्दोलनका क्रममा संसद भवनमा भएको आगजनी र तोडफोड घटनासँग जोडिएर विवादमा आएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक तस्वीर तथा भिडियोमा उनी संसद भवन परिसरमा आगजनीमा संलग्न देखिएका थिए । उनले संसद भवनभित्र कुर्सी जलाएको स्वीकारसमेत गरेका थिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कार्की रास्वपाबाट मोरङ–२ मा विजयी भएका थिए । उनले ४० हजार ९२४ मत ल्याउँदै नेकपा एमालेका दिलीपकुमार बगडिया र नेपाली कांग्रेसका डा। मिनेन्द्र रिजाललाई पराजित गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।