लोड हुँदैछ...

मेनु

गगन थापालाई मोरङबाट शेखर कोइराला पक्षको चुनौती

गगन थापालाई मोरङबाट शेखर कोइराला पक्षको चुनौती

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालानिकट नेता–कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी नहुने अडान लिएपछि कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ ।

मोरङ–६ केन्द्रित शेखर पक्षको यो निर्णयलाई सभापति गगन थापाको नेतृत्वमाथिको प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ ।

धनकुटाको नाम्जेमा आयोजित भेलामार्फत शेखर पक्षीय स्थानीय नेताहरूले पार्टी नेतृत्वले अघि बढाएको सदस्यता अद्यावधिक अभियानमा सहभागी नहुने निर्णय गरेका हुन् । यो निर्णय आउनुअघि संस्थापन पक्षले भेडेटारमा प्रदेशस्तरीय भेला गर्दै सदस्यता अद्यावधिक अभियान तीव्र बनाउने घोषणा गरेको थियो ।

शेखर पक्षभित्र भने यस विषयमा पूर्ण एकमत देखिएको छैन । विगतमा शेखरकै पक्षमा रहेका र केहि समय अगाडि थापाले केन्द्रीय समितिमा मनोनित गरेका सुनसरीका राजीव कोइरालासहित र विराटनगरका केही नेता–कार्यकर्ताले सदस्यता अद्यावधिक गराइरहेका छन् । विगतमा शेखर पक्षमै रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले जिल्लाभर प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको दाबी गरेका छन् ।

विराटनगर महानगरपालिकाका मेयर रहेका कांग्रेस मोरङ उपसभापति नागेश कोइरालाले आफूहरू अद्यावधिक प्रक्रियामा सहभागी नहुने बताए । ‘केही महिनाअघि मात्रै नवीकरण गरिएको सदस्यता अहिले फेरि अद्यावधिक गर्नु आवश्यक छैन भन्ने हाम्रो बुझाइ हो,’ उनले भने, ‘हाम्रा नेता शेखर कोइरालाले निर्देशन नदिएसम्म हामी यो प्रक्रियामा सामेल हुँदैनौं ।’

नाम्जे भेलामा मोरङ–६ का क्षेत्रीय सभापति देवराज तामाङ, विराटनगर महानगर सभापति दीपक चापागाईंसहित विभिन्न वडाका सभापतिहरू सहभागी थिए । कांग्रेसभित्र सदस्यता अद्यावधिक प्रक्रियाविरुद्ध शेखर पक्ष मात्र होइन, पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि उभिएको छ । एक साताअघि विराटनगरमै भएको भेलाले पनि अद्यावधिक प्रक्रिया रोक्ने निर्णय गरेको थियो । भेलामा कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, केदार कार्की, भीम पराजुलीलगायतका नेताहरू सहभागी थिए ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई देउवा, शेखर र सिटौला समूहले सहज रूपमा स्वीकार गरेको छैन । निर्वाचन आयोगले थापा नेतृत्वलाई वैधानिकता दिएकोमा त्यसलाई अदालतले बैधानिकता दिएपनि पार्टीभित्रको शक्ति संघर्ष अन्त्य हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।