लोड हुँदैछ...

मेनु

काँकडभिट्टा नाकाबाट डेढ करोड बढीको सुन र विदेशी मुद्रा बरामद

काँकडभिट्टा नाकाबाट डेढ करोड बढीको सुन र विदेशी मुद्रा बरामद

विराटनगर । पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरीले करिब डेढ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन र विदेशी मुद्रा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइएको सुन र विदेशी मुद्रा बरामद गरेको हो ।

प्रहरीले ५ सय ७० ग्राम सुन बरामद गरेको जनाएको छ । बरामद सुनको बजार मूल्य करिब १ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न आरोपमा भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठकलाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार पाठकको साथबाट २० हजार अमेरिकी डलर र ८४ हजार ५ सय ७० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । बरामद अमेरिकी डलरको नेपाली मूल्य मात्रै करिब २० लाख ६४ हजार रुपैयाँ बराबर हुने जनाइएको छ ।

त्यसैगरी, उनको साथबाट सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंकका कार्ड, सिमकार्ड, मोबाइल फोन तथा चेकसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सुन, विदेशी मुद्रा तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल काँकडभिट्टाका डीएसपी विकास थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।