लोड हुँदैछ...

मेनु

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आजै सक्ने हतारोमा सत्तारुढ, विपक्षीको आपत्ति

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आजै सक्ने हतारोमा सत्तारुढ, विपक्षीको आपत्ति

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज मंगलबार दिउँसो साढे १ बजे हुने भएको छ ।

शर्माविरुद्ध १६ वटा उजुरी परेपछि संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिमा ती उजुरीमाथि छलफल सुरु भएको छ ।

संवैधानिक परिषद्को बहुमतले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि समितिले सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो । समितिको सभापतित्व राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोधनारायण श्रेष्ठले गरिरहेका छन् ।

सुनुवाइ प्रक्रिया एकैदिनमा टुंग्याउन खोजिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले कडा आपत्ति जनाएका छन् । मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा नेकपा एमाले, नेकपा लगायत दलका सांसदहरूले उजुरी अध्ययन गर्न पर्याप्त समय नदिइएको भन्दै सुनुवाइ स्थगित गर्न माग गरेका हुन् ।

नेकपा एमालेकी सांसद पद्मा अर्यालले उजुरी, कार्ययोजना र संवैधानिक परिषद्को निर्णय अध्ययन गर्न समय आवश्यक रहेको बताइन् । उनले “आजै साढे १ बजे सुनुवाइ सक्ने गरी अघि बढ्नु अनौठो” भएको टिप्पणी गर्दै आवश्यक कागजात उपलब्ध गराएर कम्तीमा एक दिन अध्ययनको समय दिनुपर्ने धारणा राखिन् ।

एमालेकै सांसद प्रेम दंगालले पनि १६ वटा उजुरी विस्तृत प्रकृतिका भएकाले गहन अध्ययन आवश्यक रहेको बताए । उनले “आज अध्ययन गरौं, भोलि बिहानै बसेर निर्णय गरौं” भन्दै हतारोमा सुनुवाइ नगर्न आग्रह गरे ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले संसदीय सुनुवाइ समितिलाई “अनुमोदन समिति” जस्तो बनाइएको भन्दै कटाक्ष गरे । उनले “केही नसुनी निर्णय गर्ने हो भने सुनुवाइ समिति किन चाहियो ?” भन्दै प्रक्रिया औपचारिकतामा सीमित हुन नहुने बताए ।

त्यसैगरी सांसद वर्षमान पुनले पनि सभापति नै दबाबमा रहेको जस्तो देखिएको टिप्पणी गर्दै पर्याप्त छलफलपछि मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए । प्रस्तावित प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुने भएकाले संसदीय सुनुवाइलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

रास्वपाका सांसदहरूले भने प्रक्रिया सुरु भइसकेपछि सुनुवाइ अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । सांसद मधुकुमार चौलागाईंले “सुनुवाइका लागि बसेपछि प्रक्रिया अगाडि बढाउनुपर्छ” भन्दै कार्यविधिअनुसार अघि बढ्नुपर्ने बताए ।

समितिमा रास्वपाको बहुमत रहेकोले त्यसकै आडमा सुनुवाई अगाडि बढाइएको छ । समितिले शर्माविरुद्ध परेका उजुरीकर्तासँग छलफल थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।