विराटनगर । कोशी प्रदेश सरकार मातहत रहेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालयले अभिभावकहरूको उपस्थितिमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । विश्वविद्यालयले अभिभावकहरूलाई ‘सद्भावना दूत’का रूपमा अघि सार्दै उनीहरूसँगकै अन्तरक्रियाका बीच छात्रवृत्ति वितरण गरेको हो ।
मोरङको बुढीगंगा गाउँपालिका–४ मा अवस्थित विश्वविद्यालयले सोमबार इन्जिनियरिङ संकायको स्नातक तह प्रथम सेमेस्टर पूरा गरेका ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । सिभिल र इलेक्ट्रिक इन्जिनियरिङ अध्ययनरत ती विद्यार्थीहरूलाई इन्जिनियरिङ संकायकी डिन डा. रेखा श्रेष्ठले जनही २५ हजारदेखि ७५ हजार रुपैयाँसम्मको छात्रवृत्ति हस्तान्तरण गरिन् ।
छात्रवृत्ति वितरण गर्दै डिन डा. श्रेष्ठले विश्वविद्यालयले अभिभावकका गुनासो र सुझावलाई प्रत्यक्ष सुनेर तत्काल समाधान खोज्ने उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताइन् । यस्तै, सिभिल इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर ओमनारायण चौधरीले जेहेन्दार र पढ्न चाहने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न विश्वविद्यालयले नियमित रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गरे ।
विश्वविद्यालयको यो अभ्यासप्रति अभिभावकहरूले समेत उत्साह व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी अभिभावकहरू दिवाकर पौडेल र शर्मिला भट्टराईले आफ्नै प्रदेशमा सुलभ खर्चमा गुणस्तरीय शिक्षा पाउनु खुसीको कुरा भएको बताए । अभिभावकलाई नियमित बोलाएर विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी दिने र सुझाव लिने कार्य अत्यन्तै सराहनीय रहेको उनीहरूको भनाइ थियो ।
इन्जिनियरिङ संकायका प्रशासन प्रमुख महेश राईका अनुसार विश्वविद्यालयले हरेक वर्ष करिब २७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारका छात्रवृत्ति वितरण गर्दै आएको छ । यसमा आवश्यकताका आधारमा, योग्यताका आधारमा, पार्सियल, फुल स्कलरसिप, इन्ट्रान्स टपर, सेमेस्टर टपर र रिसर्च छात्रवृत्तिहरू समावेश छन् ।
विश्वविद्यालयले विद्यार्थीको भर्ना, परीक्षा र छात्रवृत्ति वितरण जस्ता मुख्य गतिविधिहरूमा कम्तीमा एक जना अभिभावकको उपस्थिति अनिवार्य गरेको छ । यसो गर्दा विद्यार्थीको पढाइको गुणस्तर, समस्याहरू र विश्वविद्यालयको सेवा–व्यवहारका बारेमा प्रत्यक्ष समीक्षा गर्न सहज हुने विश्वास विश्वविद्यालयको छ । मनमोहन प्राविधिक विश्वविद्यालयले हरेक सेमेस्टरमा उत्कृष्ट हुने र अनुसन्धानमा सहभागी हुने विद्यार्थीहरूलाई समेत विशेष प्रोत्साहन दिँदै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।