विराटनगर । नेकपा (एमाले) को सचिवालय बैठक आज सोमबार दिउँसो ३ बजे बस्दैछ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने यस बैठकले पार्टीको आन्तरिक सांगठनिक संरचना र नेताहरूको कार्यविभाजनलाई मुख्य एजेण्डा बनाउने बुझिएको छ ।
गत मंसिरमा सम्पन्न ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि नेताहरूको औपचारिक कार्यविभाजन अझै हुन सकेको छैन । आजको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्ज तथा विभिन्न विभागका प्रमुख र उपप्रमुखहरूको जिम्मेवारी बाँडफाँट सम्बन्धी खाका प्रस्तुत गर्ने तयारी छ । हालसम्म केन्द्रीय सदस्यहरूलाई अस्थायी रूपमा निर्वाचन केन्द्रित जिम्मेवारी मात्र दिइएको छ ।
बैठकमा कार्यविभाजनका अतिरिक्त पार्टी पुनर्गठनको विषयले पनि प्राथमिकता पाउने देखिएको छ । एमालेभित्र कार्यविभाजन मात्र नभई समग्र पार्टीकै पुनर्गठन हुनुपर्ने र नेतृत्वले विकल्प दिनुपर्ने माग सचिवालय सदस्यहरूबाटै उठ्न थालेको छ । यस्तै, गत फागुन २१ को चुनावी समीक्षा र तल्लो तहबाट आएका रिपोर्टहरूमाथि छलफल गर्ने तयारी भए पनि अध्यक्ष ओलीको स्वास्थ्यका कारण सबै विषयमा विस्तृत छलफल हुनेमा भने संशय छ ।
भर्खरै पित्तथैली र हर्नियाको शल्यक्रिया गराएका अध्यक्ष ओली पूर्ण रूपमा तंग्रिइनसकेका कारण शनिबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । स्वास्थ्य अवस्थाकै कारण उनी केही समयदेखि सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् । आजको बैठकले एमालेको आगामी सांगठनिक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।