लोड हुँदैछ...

मेनु

शैक्षिक संस्थामा राजनीति गर्दैनौँ भन्ने रास्वपाले पनि लियो भागवण्डा गरेर सुकुनामा तिन सदस्य

शैक्षिक संस्थामा राजनीति गर्दैनौँ भन्ने रास्वपाले पनि लियो भागवण्डा गरेर सुकुनामा तिन सदस्य

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि राजनीतिक भागवण्डामा हिस्सा लिएको छ । शैक्षिक संस्था र संघ–संस्थामा राजनीति नगर्ने घोषणा गर्दै आएका रास्वपाका नेताहरूले क्याम्पस सञ्चालक समितिमा आफ्ना प्रतिनिधि पठाएका हुन् ।

क्याम्पसको १९औँ परिषद् बैठकले नेकपा एमालेका नेता सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सोही कार्यसमितिमा रास्वपाले २ सदस्य र लेखा समितिमा १ सदस्य गरी कुल ३ पद लिएको हो ।

रास्वपाका तर्फबाट कार्यसमितिमा महेश आचार्य र तुलसी ढकाल चयन भएका छन् भने लेखा समितिमा देवीप्रसाद आचार्य छानिएका छन् ।

क्याम्पस सञ्चालक समितिमा एमाले, नेकपार रास्वपाबीच भागवण्डा मिले पनि नेपाली कांग्रेस भने प्रक्रियाबाट बाहिरिएको छ । स्रोतका अनुसार कांग्रेसले अध्यक्ष पदमा दाबी गरेको थियो । बैठकमा सहभागी एक परिषद् सदस्यका अनुसार कांग्रेसलाई उपाध्यक्ष र तीन सदस्य लिन प्रस्ताव गरिएको थियो, तर उक्त प्रस्तावमा असहमति जनाउँदै कांग्रेस प्रतिनिधिहरू बैठकबाट बाहिरिएका थिए ।

विशेषगरी कांग्रेसभित्रको शेरबहादुर देउवा पक्षले अध्यक्ष पद पाउनुपर्ने अडान राखेको थियो भने संस्थापन इतर पक्ष उपाध्यक्ष लिएरै भए पनि समितिमा बस्न तयार देखिएको थियो । तर, सहमति नजुटेपछि कांग्रेसले समितिमा आफ्ना सदस्य पठाएन ।

नयाँ कार्यसमितिका सदस्यहरूमा उमेश वस्ती, टिका कट्टेल, रमेश खड्का, नवराज चापागाईँ, पुण्यप्रसाद आचार्य, तिलकप्रसाद ढकाल, लक्ष्मीप्रसाद फुयाल, योजना शर्मा, योगराज काफ्ले र नेत्रप्रसाद ढकाल लगायत चयन भएका छन् ।

रास्वपाले सार्वजनिक मञ्चहरूमा दलीय भागवण्डा र शैक्षिक संस्थामा राजनीतिक नियुक्तिको विरोध गर्दै आए पनि सुकुना क्याम्पसमा भने पदकै लागि भागवण्डामा सामेल हुनुलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।