लोड हुँदैछ...

मेनु

३३ औं मदन–आश्रित स्मृति दिवस

जबज क्षणिक लोकप्रियताको औजार होइन, परिवर्तनको वैचारिक मार्गचित्र हो : अध्यक्ष ओली

जबज क्षणिक लोकप्रियताको औजार होइन, परिवर्तनको वैचारिक मार्गचित्र हो : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) कुनै क्षणिक लोकप्रियता हासिल गर्ने औजार नभई यथार्थको धरातलमा आधारित परिवर्तनको संवाहक विचार भएको बताएका छन् ।

३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बिहीबार जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले जबजको वैचारिक विरासतले नै मुलुकलाई परिवर्तनको दिशामा डोहोर्‍याइरहेको उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले भनेका छन्, “जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार होइन, यो त यथार्थको धरातलमा आधारित विचार हो । यसले हामीलाई विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन निरन्तर प्रेरित गरिरहेको छ ।”

अध्यक्ष ओलीले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितलाई गुमाउनुपर्दाको अभाव समयसँगै झन् गहिरिँदै गएको स्मरण गरे । मदन भण्डारीलाई एक युगद्रष्टा सहयोद्धा र वैचारिक भाष्य दिने नेताका रूपमा चित्रण गर्दै ओलीले जीवराज आश्रितको कुशल संगठकको भूमिकाले पार्टी निर्माणमा पुर्‍याएको योगदानको चर्चा गरे ।

“मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ,” ओलीले भावुक हुँदै लेखेका छन्, “उहाँकै मार्गदर्शनमा हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानलाई अघि बढाएका छौँ ।”

पछिल्लो दशकमा जबजकै मार्गदर्शनका कारण नेपालको मानवीय तथा भौतिक पूर्वाधार विकासमा ठूलो परिवर्तन देखिन थालेको दाबी गर्दै अध्यक्ष ओलीले मदन–आश्रितको विचारबाट विचलित नभई अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।