लोड हुँदैछ...

मेनु

पर्यटकीय क्षेत्र लुक्ला र पोखराका लागि सिधा हवाई उडान

पर्यटकीय क्षेत्र लुक्ला र पोखराका लागि सिधा हवाई उडान

विराटनगर । अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको बैठकमा कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कोशी प्रदेशको समग्र पर्यटन प्रवर्धनका लागि विराटनगरबाट पर्यटकीय क्षेत्र लुक्ला र पोखराका लागि सिधा हवाई उडान हुनुपर्ने माग राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको संयोजकत्वमा गठन गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको शुक्रबार काठमान्डौमा बसेको बैठकमा पराजुलीले यस्तो बताएका हुन् । सगरमाथा दिवसलाई विविध कार्यक्रम सहित भव्य रूपमा मनाउने निर्णय भएको छ ।

बैठकमा पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवर्धन तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । मन्त्री पराजुलीले कोशी प्रदेशमा रहेका विश्वप्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरूको विकास र प्रचार प्रसारका लागि हवाई कनेक्टिभिटी अपरिहार्य रहेको औंल्याएका थिए ।

यस्तै कोशी प्रदेशका चर्चित धार्मिक स्थलहरु पाथीभरा,चतरा,बराहक्षेत्र,हलेसी, पिण्डेश्वर धाम,किराँत र बौद्ध सांस्कृतिक सम्पदाहरुको बृहत्तर प्रचार साथै हिमालहरुको थप अनुसन्धान समेत हुनुपर्ने कुराको उठान गरेका छन् । मन्त्री पराजुलीले वैठकमा जेनजी आन्दोलनका क्रममा जलेका विराटनगर स्थित कोइराला निवास,मदन भण्डारी सग्रालय लगायतका स्थानहरुको संरक्षण तथा पुनःनिर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

सर्वोच्च शिखर सगरमाथा प्रथमपटक आरोहण गरेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा विविध कार्यक्रम गरी प्रत्येक वर्ष मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।