लोड हुँदैछ...

मेनु

यस वर्ष ५१ हजार घरधुरी मनसुनको जोखिममा

यस वर्ष ५१ हजार घरधुरी मनसुनको जोखिममा

विराटनगर । यस वर्ष मनसुनजन्य विपद्बाट देशभरका करिब ५१ हजार ८६८ घरधुरी जोखिममा पर्ने आकलन गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्वीकृत गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ ले यस्तो प्रक्षेपण गरेको हो।

बिहीबार पूर्वाधार विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा बसेको बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको हो। कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट देशभरका २ लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने अनुमान छ।

कार्ययोजनामा विपद् जोखिमको विश्लेषण, जिम्मेवार निकायहरूको कार्यविभाजन, सम्पर्क व्यक्ति र अत्यावश्यक खोज तथा उद्धार सामग्रीको विवरण समावेश गरिएको छ। विपद्को समयमा संस्थागत संयन्त्र स्वतः परिचालित हुने गरी बैठकले ‘खोज तथा उद्धार टोली गठन तथा परिचालन मापदण्ड, २०८३’ समेत स्वीकृत गरेको छ।

यस्तै, विपद् पूर्वतयारी र खोज-उद्धारलाई प्रभावकारी बनाउन ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि’ र पूर्वानुमानका आधारमा क्षति कम गर्न ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा’ पनि स्वीकृत गरिएको छ। बैठकले विपद् प्रभावित निजी आवास पुनर्निर्माण अनुदान कार्यविधिमा संशोधन गर्नुका साथै भूकम्पीय पुनर्निर्माणका लागि २१ जना प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।