लोड हुँदैछ...

मेनु

जेठ ६ गते कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

जेठ ६ गते कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ६ गतेका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न अधिवेशन आह्वानको सिफारिस गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीका अनुसार जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशन सुरु हुनेछ । ‘मन्त्रीपरिषद्को आजको बैठकले आगामी बजेट अधिवेशनको मिति तय गर्नुका साथै केही महत्वपूर्ण प्रशासनिक र राजनीतिक निर्णयहरू गरेको छ,’ मन्त्री पराजुलीले भने ।

योजना आयोगमा घिमिरे नियुक्त
बैठकले कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगलाई पूर्णता दिने क्रममा सरकारले घिमिरेलाई सदस्यमा मनोनीत गरेको हो ।

सरकारले केही महत्वपूर्ण नियमावली र निर्देशिकाहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको छ । जसअनुसार ‘कोशी प्रदेश तथ्यांक नियमावली २०८२’ लाई मन्त्रिपरिषद्को पूर्वाधार समितिमा पठाइएको छ ।

यस्तै, ‘कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८३’ र ‘कोशी योजना आयोग गठन सञ्चालन पहिलो संशोधन आदेश २०८३’ लाई थप छलफल र परिमार्जनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको मन्त्री पराजुलीले जानकारी दिए ।

बैठकले संघीय सरकारबाट सरुवा भई कोशी प्रदेशमा आएका सह–सचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रूपमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।