लोड हुँदैछ...

मेनु

निर्वाचनको समीक्षा गर्न शनिबार एमाले सचिवालय बैठक बस्दै, नेतृत्वमाथि दबाब बढ्दो

निर्वाचनको समीक्षा गर्न शनिबार एमाले सचिवालय बैठक बस्दै, नेतृत्वमाथि दबाब बढ्दो

काठमाडौँ । नेकपा एमालेले लामो समयको अन्तरालपछि आगामी शनिबारका लागि सचिवालय बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बैठक बस्ने गरी सचिवालयका सदस्यहरूलाई खबर गरेका हुन् ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि एमालेको सचिवालय बैठक बस्न लागेको यो पहिलो पटक हो । चुनावमा पार्टीले नराम्रो पराजय व्यहोरेसँगै अध्यक्ष ओलीमाथि नेतृत्व छाड्न चौतर्फी दबाब बढिरहेको छ । सोही दबाब र आन्तरिक असन्तुष्टिका कारण ओलीले लामो समयदेखि बैठक टार्दै आएका थिए ।

पार्टीका औपचारिक कार्यक्रम र बैठकहरू नभएपछि एमालेभित्र अन्योलता बढेको थियो । यही वैशाख २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेर अध्यक्षसँग भेटवार्ता गरेका थिए । सो भेटमा नेताहरूले पार्टीलाई गतिहीन हुन नदिन र चुनावी समीक्षाका लागि तत्काल बैठक बोलाउन आग्रह गरेका थिए ।

एमालेले चुनावमा भएको पराजयको अहिलेसम्म औपचारिक रुपमा समीक्षा गर्न सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको भोलिपल्टै अर्थात् चैत १४ गते ओली जेनजी आन्दोलन घटनाको अनुसन्धानका लागि पक्राउ परेका थिए ।

सोही क्रममा उनको पित्तथैलीको शल्यक्रिया समेत गरिएको थियो । शल्यक्रियापछि चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका कारण ओली हालसम्म पार्टीका औपचारिक गतिविधिमा सक्रिय हुन सकेका थिएनन् ।

शनिबार बस्ने बैठकमा चुनावी पराजयको समीक्षा, भावी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । चुनावपछि पहिलो पटक बस्न लागेको यस बैठकलाई एमालेभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।