लोड हुँदैछ...

मेनु

मोरङबाट ७९ विद्यार्थीले ल्याए ४ जीपीए, ४६५० विद्यार्थीको नतिजा ‘एनजी’

मोरङबाट ७९ विद्यार्थीले ल्याए ४ जीपीए, ४६५० विद्यार्थीको नतिजा ‘एनजी’

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङ जिल्लाबाट ७९ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार मोरङका १८ हजार ७५ परीक्षार्थीमध्ये ७९ जनाले उत्कृष्ट नतिजा (४ जीपीए) ल्याएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख उपसचिव शालिग्राम दाहालले परीक्षाको प्रारम्भिक नतिजाबारे जानकारी दिँदै ७९ जनाले पूर्ण जीपीए ल्याएको पुष्टि गरे। कुन-कुन विद्यालयका विद्यार्थीले ४ जीपीए ल्याए भन्ने विस्तृत विवरण केही बेरमा सार्वजनिक गरिने उनले बताए।

“अहिले प्राप्त भएको यो प्रारम्भिक तथ्यांक हो,” प्रमुख दाहालले भने, “हामी ४ जीपीए ल्याउने विद्यालय र विद्यार्थीको नामावली केही बेरमा सार्वजनिक गर्नेछौँ।”

इकाइका अनुसार मोरङबाट परीक्षामा सहभागी कुल १८ हजार ७५ जनामध्ये नियमिततर्फ १७ हजार २०६ र ग्रेडवृद्धितर्फ ९२९ जना परीक्षार्थी रहेका थिए। जसमध्ये ४ हजार ६ सय ५० जना विद्यार्थीको नतिजा ‘एनजी’ (नन् ग्रेडेड) आएको छ।

यस वर्ष मोरङमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। गत वर्ष मोरङबाट १८ जना विद्यार्थीले मात्र ४ जीपीए प्राप्त गरेका थिए।

मोरङमा हाल कुल ३९९ वटा विद्यालय सञ्चालनमा छन्। यस पटकको परीक्षामा २२६ संस्थागत (निजी) र १७३ सामुदायिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।