काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताए ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई “रगतले लेखिएको कथा” को संज्ञा दिए ।
उनले भने, “परिणामका दृष्टिले सानो ठूलो जो–जे सुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ।” प्रचण्डले विगत र वर्तमानबीच तथ्यांकमै आधारित तुलना गर्दै संसदको रूपान्तरणलाई स्पष्ट पारे ।
आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठूलो उपलब्धि भएको उनले उल्लेख गरे । ‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ । क्रान्तिले लेखिएको छ । पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ,’ प्रचण्डले भने, ‘मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसदमा जसको प्रवेश भए पनि म आफैं प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू ?’
पार्टी जुनसुकै भए पनि समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने अधिकार आफूलाई रहेको बताउँदै प्रचण्डले क्रान्तिको मशाल आफ्नै रगतले बालेको स्मरण गरे ।
प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाए। सम्बोधनका क्रममा उनले भने, ‘मैले तपाईहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईहरूको जिम्मेवारी हो। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू ? पार्टी जुनसुकै होस्, समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक प्रचण्डलाई छ भन्ने म ठान्दछु।’
उनले शान्ति प्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने, ‘शान्ति प्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं। काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन।’
प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जीतको रूपमा व्याख्या गरे। उनले भने, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जीत हो।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।