विराटनगर / विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलले लोकतान्त्रिक अभ्यास मार्फत नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीहरूको नेतृत्व चयन गरेको छ। विद्यालयले मतदान प्रक्रिया अपनाएर शैक्षिक सत्र २०८३ का लागि विद्यार्थीहरूको प्रमुख (प्रिफेक्ट) र उप–प्रमुख (डेपुटी प्रिफेक्ट) चयन गरेको हो।
विद्यार्थीहरूलाई देशको निर्वाचन प्रणाली, मतदानको महत्त्व र नेतृत्वको जिम्मेवारीबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष यस्तो निर्वाचन गर्दै आएको छ। निर्वाचनका लागि विद्यालय हाताभित्रै व्यवस्थित मतदान केन्द्र र गोप्य मतदानको व्यवस्था गरिएको थियो। विद्यार्थीहरूले छुट्टाछुट्टै मतपेटिका मार्फत उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरेका थिए।
निर्वाचन परिणाम
निर्वाचनको नतिजाअनुसार आधारभूत तहको प्रमुखमा कक्षा ८ की आरुबी भट्टराई र उप–प्रमुखमा कक्षा ७ का सिवान्सु कर्ण निर्वाचित भएका छन्। त्यसैगरी, माध्यमिक तहको प्रमुखमा मान्यता बस्नेत र उप–प्रमुखमा अरिनजंग थापा चुनिएका छन्। नवनिर्वाचित प्रमुख र उप–प्रमुखले विद्यार्थी र विद्यालय प्रशासनबीच समन्वयकारी भूमिका निर्वाह गर्ने तथा विद्यार्थीको हकहितका लागि कार्य गर्ने विद्यालयले जनाएको छ।
विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीले लामो समयदेखि विद्यालयमा यो पद्धति अपनाइँदै आएको जानकारी दिए। ‘हामीले हरेक नयाँ शैक्षिक सत्रको सुरुमा मतदानमार्फत नै विद्यार्थी नेतृत्व चयन गर्ने गरेका छौँ,’ भण्डारीले भने, ‘यसले विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्नुका साथै निर्वाचन प्रक्रियाका बारेमा प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्दछ।’
विद्यार्थीहरूले विद्यालय तहदेखि नै मतदानको गोप्यता र निर्वाचनको प्रक्रिया बुझ्दा भविष्यमा सचेत नागरिक बन्न मद्दत पुग्ने विद्यालयको विश्वास छ। मतदानमार्फत नेतृत्व चयन गर्ने यस प्रक्रियालाई विद्यार्थी र अभिभावकले समेत सकारात्मक रूपमा लिने गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।