लोड हुँदैछ...

मेनु

राष्ट्रिय ३x३ बास्केटबल : छात्रतर्फ झुनास र छात्रातर्फ ग्रान्डे स्टार्स च्याम्पियन

राष्ट्रिय ३x३ बास्केटबल : छात्रतर्फ झुनास र छात्रातर्फ ग्रान्डे स्टार्स च्याम्पियन

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सञ्चालित ‘राष्ट्रिय ३x३ बास्केटबल च्याम्पियनसिप’ को उपाधि छात्रतर्फ झुनास फिटनेस धरान र छात्रातर्फ ग्रान्डे स्टार्स काठमाडौँले जितेका छन् ।

एभरेष्ट कलेजको खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा झुनासले आयोजक टोली ‘बीबीए बी’ लाई २१–१० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । झुनासका सर्बो राई प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) घोषित भए ।

त्यसैगरी, छात्रातर्फको फाइनलमा काठमाडौँको ग्रान्डे स्टार्सले युवा जागृति धरानलाई २०–२ को स्कोरमा सहजै हराउँदै च्याम्पियन बन्यो । छात्रातर्फ ग्रान्डे स्टार्सकी रिन्छेन मोक्तान उत्कृष्ट खेलाडी (एमभीपी) चुनिनन् ।

प्रतियोगिताका विजेता दुवै टोलीले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे । उपविजेता टोलीहरूलाई नगद २५ हजार रुपैयाँ प्रदान गरियो भने विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।

एभरेष्ट कलेजका प्रिन्सिपल टीकाराम पुरीको प्रमुख आतिथ्यतामा आयोजित पुरस्कार वितरण समारोहमा विजयी खेलाडीहरूलाई पुरस्कृत गरियो । कार्यक्रममा एभरेष्ट स्कुलका भाइस प्रिन्सिपल कुन्दन पुरी, मोरङ जिल्ला बास्केटबल संघका उपाध्यक्ष अनिल राई, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक अनुभव दाहाल, एकेडेमीका अध्यक्ष सरोज लम्साल, ओबी मिडियाका अध्यक्ष विवेक दाहाल र दिपालका सेल्स एक्जुकेटिभ महेश नेपाली लगायतले पुरस्कार तथा प्रशंसा पत्र वितरण गरेका थिए ।

विगत १५ वर्षदेखि ग्रासरुट बास्केटबल विकासमा सक्रिय एकेडेमीले आयोजना गरेको यस प्रतियोगिताले नेपालमा बास्केटबलको वातावरण (इकोसिस्टम) लाई थप बलियो बनाउने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।