काठमाडौँ । टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगलागी भएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सुचारु भएको छ।
सोमबार बिहान टर्कीको इस्तानबुलबाट आएको विमान अवतरणका क्रममा धावनमार्ग (रनवे)मा पांग्रा तातिएर आगो लागेपछि सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो। विमानस्थलका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि र विमानलाई ट्याक्सी वेबाट तानेर सुरक्षित रूपमा पार्किङ क्षेत्रमा लगिएपछि सेवा पुनः सञ्चालनमा ल्याइएको हो।
विमानस्थल कार्यालयका अनुसार विमानमा सवार सबै २७३ यात्रु र ११ जना चालक दलका सदस्यहरू सकुशल रहेका छन्। जहाजलाई धावनमार्गबाट हटाएसँगै रोकिएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरणहरू अहिले सामान्य अवस्थामा फर्किएका छन्।
प्राविधिक जाँच र धावनमार्गको सुरक्षा परीक्षण सम्पन्न भएपछि विमानस्थल प्रशासनले उडान सुचारु गर्ने निर्णय गरेको हो। यसअघि जहाजको टायरमा आगो सल्किएपछि केही समय विमानस्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।