लोड हुँदैछ...

मेनु

भारतीय अवरोध परीक्षणका लागि नेपालबाट एक गाडी चिया पठाइयो

भारतीय अवरोध परीक्षणका लागि नेपालबाट एक गाडी चिया पठाइयो

विराटनगर । भारतले नयाँ कानुनी प्रावधान लागू गरेपछि निर्यात ठप्प भएको नेपाली चियाको एउटा गाडी परीक्षणका लागि व्यवसायीले भारत पठाएका छन् ।

भारतीय पक्षको व्यवहार र नयाँ नियमको कार्यान्वयन अवस्था बुझ्न एक गाडी चिया पठाएको व्यवसायीहरुले बताएका छन् ।

भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ अनुसार अब नेपालबाट भारत जाने हरेक गाडीको चिया प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था छ । यसअघि एउटा नमूना परीक्षणपछि तीन महिनासम्म वा २० वटा गाडीसम्म चिया निर्यात गर्न पाइने सुविधा थियो ।

नयाँ नियम लागू भएसँगै नेपाली चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीबाट फर्काइएका थिए । अहिले भने परीक्षणका लागि एउटा मात्रै गाडी पुनः भारतीय क्षेत्रमा पठाइएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।

शुक्रबार भारत प्रवेश गराइएको उक्त गाडीको नमूना संकलन र परीक्षण प्रक्रिया सोमबारबाट सुरु हुने अपेक्षा छ । ‘अहिले हामी भारतीय पक्षको व्यवहार बुझ्ने चरणमा छौं । त्यसको प्रतिक्रिया हेरेर मात्रै थप गाडी पठाउने कि नपठाउने भन्ने निर्णय हुन्छ,’ उनले भने ।

तीन दिनअघि नाका पुगेको गाडीको नमूना अझै संकलन नभएको उद्योगीहरूको भनाइ छ । भारतीय पक्षले चियाको नमूना कोलकाता पठाएर मात्रै परीक्षण गर्ने भएकाले रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

नाकामै गाडी रोकिँदा चियाको गुणस्तरमा असर पर्ने, लागत बढ्ने र निर्यात प्रक्रिया अनिश्चित बन्ने जोखिम हुन्छ । झरी र घाममा लामो समय गाडीमै चिया राख्दा उत्पादन बिग्रिने खतरा रहेको व्यवसायी बताउँछन् ।

चिया निकासीको लागि सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको व्यवसायीको गुनासो छ । ‘हामीले सरकारलाई भारतीय पक्षसँग सिधै वार्ता गरेर नेपाली चियालाई बिना अवरोध प्रवेश गराउने वातावरण बनाउन आग्रह गरेका छौं,’ अध्यक्ष पराजुलीले भने ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा वार्षिक उत्पादन हुने १ करोड ९० लाख किलो सिटिसी चियामध्ये करिब १ करोड किलो भारत निर्यात हुन्छ । त्यस्तै ७० लाख किलो अर्थोडक्स चियामध्ये ६० लाख किलो भारतीय बजार पुग्ने गरेको छ ।

दार्जिलिङको चियासँग नेपाली चियाले प्रतिस्पर्धा गर्न थालेपछि भारतीय पक्षबाट बेला–बेला विभिन्न अवरोध सिर्जना हुने गरेको छ । इलाम र दार्जिलिङको चिया समान भूगोल र गुणस्तरको भएकाले नेपाली चियामाथि फरक व्यवहार गर्न नहुने उनीहरूको तर्क छ ।

चिया क्षेत्रबाट नेपालले हरेक वर्ष साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।