उदयपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरमा पत्रकार सदस्यता शुद्धीकरण, संस्थागत सुदृढीकरण तथा श्रमजीवी पत्रकारको हकहित सुनिश्चित गर्न माग गर्दै दुई पत्रकार संगठनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।
प्रेस सेन्टर नेपाल उदयपुर र समाजवादी प्रेस संगठन उदयपुरले महासंघ जिल्ला शाखाका अध्यक्ष भक्तिविलास पोखरेललाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रमा देखिएको विश्वसनीयता संकट, पेशागत अवमूल्यन तथा गैर–पत्रकारको प्रवेशले वास्तविक पत्रकारहरू मर्कामा परेको भन्दै शुद्धिकरण गर्न माग गरेर ज्ञापपत्र आइतबार बुझाएका हुन् । संयुक्त ज्ञापनपत्रमा पत्रकारिताको नाममा गैर–पेशागत गतिविधिमा संलग्न व्यक्तिहरूले महासंघको सदस्यता लिएर श्रमजीवी पत्रकारको अधिकार, अवसर तथा प्रतिनिधित्वमाथि अन्याय गरिरहेको आरोप लगाइएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘उदयपुर जिल्लामा महासंघसँग आबद्ध पत्रकारको संख्या एक सयभन्दा बढी भए पनि नियमित रूपमा सक्रिय पत्रकारिता गर्ने श्रमजीवी पत्रकार करिब ४५-५० जना मात्र रहेको यथार्थ सर्वविदित छ । यस्तो अवस्थामा महासंघलाई वास्तविक पत्रकारहरुको साझा पेशागत संस्था बनाउन सदस्यता शुद्धीकरण अभियान तत्काल सञ्चालन गर्नु आवश्यक देखिन्छ ।’ यस्तो अवस्थाले पत्रकारिता पेशाको गरिमा कमजोर बनाउनुका साथै महासंघको संस्थागत विश्वसनीयतामा समेत प्रश्न उठेको समाजवादी प्रेस संगठनका कोशी प्रदेश सचिव सुखिलाल चौधरी र प्रेस सेन्टर उदयपुरका जिल्ला अध्यक्ष अभिमन्यू लामिछानेले बुझाएको ज्ञापन पत्रमार बताइएको छ ।
पत्रकार संगठनहरूले गत फागुन २१ गते सम्पन्न ‘जेनजी आन्दोलन अनुमोदन निर्वाचन’ले देशमा नयाँ राजनीतिक तथा सामाजिक अभ्यासको सन्देश दिएको उल्लेख गर्दै पुराना विकृति अन्त्य गरी संस्थाहरूलाई पारदर्शी, जिम्मेवार र जनमुखी बनाउने आवश्यकता औंल्याएका छन् । सोही सन्दर्भमा नेपाल पत्रकार महासंघभित्र पनि वास्तविक पत्रकारको पहिचान, सदस्यता शुद्धीकरण तथा संस्थागत सुधार अपरिहार्य बनेको उनीहरूको ठहर छ ।
उदयपुर जिल्लामा महासंघसँग आबद्ध पत्रकारको संख्या एक सयभन्दा बढी भए पनि नियमित तथा सक्रिय रूपमा श्रमजीवी पत्रकारिता गर्ने पत्रकारको संख्या करिब ४५ देखि ५० जनामात्र रहेको यथार्थलाई ध्यानमा राख्दै महासंघलाई वास्तविक पत्रकारहरूको साझा पेशागत संस्था बनाउन सदस्यता शुद्धीकरण अभियान तत्काल सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्रमार्फत प्रेस सेन्टर नेपाल उदयपुर र समाजवादी प्रेस संगठन उदयपुरले सदस्यता शुद्धीकरण अभियान तत्काल सुरु गर्न, वास्तविक पत्रकारको पहिचान सुनिश्चित गर्न तथा महासंघलाई पेशागत मर्यादा, पारदर्शिता र उत्तरदायित्वमा आधारित संस्थाका रूपमा सुदृढ बनाउन जिल्ला शाखाको ध्यानाकर्षण गराएका छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।