लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना, यस्तो छ देशभरको मौसम

कोशी प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना, यस्तो छ देशभरको मौसम

विराटनगर । कोशी प्रदेशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ ।

विशेष गरी कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आज राति मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार, आज राति कोशी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने देखिएको छ । कोशी प्रदेशको तराई भूभागमा समेत एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ देशभरको मौसमी अवस्था
हाल देशभरको मौसमी अवस्था हेर्दा बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली रहेको छ ।

दिउँसोको पूर्वानुमान:
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ ।

रातिको पूर्वानुमान:
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा अन्य प्रदेशका पहाडी भूभागमा भने एक-दुई स्थानमा मात्र हल्का वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ ।

पूर्वी नेपालमा विकास भएको न्यून चापीय क्षेत्रका कारण कोशी प्रदेशमा अन्य प्रदेशको तुलनामा मौसमी सक्रियता बढी देखिएको मौसमविद्हरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।