लोड हुँदैछ...

मेनु

ब्लड क्यान्सरसँग जुधिरहेकी भूमिकाको उपचारका लागि सहयोगको याचना

ब्लड क्यान्सरसँग जुधिरहेकी भूमिकाको उपचारका लागि सहयोगको याचना

विराटनगर । सुनसरीको इटहरी–तरहराकी १२ वर्षीया भूमिका तिवारी अहिले जीवन र मृत्युबीचको कठिन संघर्षमा छिन् ।

कक्षा ६ मा अध्ययनरत भूमिका भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा ब्लड क्यान्सरविरुद्ध उपचाररत छिन् । परिवारले छोरीको जीवन बचाउन सबै सम्भावित प्रयास गरिरहेको भएपनि उपचार खर्च धान्न नसकेपछि सहयोगको याचना गरेको छ ।

गत चैतदेखि सामान्य स्वास्थ्य समस्या देखिएकी भूमिकाको अवस्था क्रमशः जटिल बन्दै गयो । काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणपछि उनलाई एक्युट ल्युकेमिया (बी–अल प्रकारको ब्लड क्यान्सर) भएको पुष्टि भयो । चिकित्सकहरूले दुवै मृगौला र कलेजोमा समेत असर देखिएको बताएपछि थप विशेषज्ञ उपचारका लागि परिवार भारत पुगेको हो ।

भूमिकाका बुबा षडानन्द तिवारी सेवानिवृत्त प्रहरी कर्मचारी हुन् । हाल सामान्य पसल सञ्चालन गरेर परिवार चलाइरहेका उनले छोरीको उपचारका लागि ऋण, सापटी र बचत जुटाउँदै भारत पुर्‍याए । तर, उपचार अपेक्षाभन्दा धेरै महँगो र लामो भएपछि परिवार आर्थिक संकटमा परेको छ ।

नेपालमै प्रारम्भिक परीक्षण र उपचारमा एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । भारतमा केमोथेरापी, परीक्षण र अस्पताल बसाइको खर्च थपिँदै गएपछि उपचार निरन्तरता दिन कठिन बन्दै गएको परिवारको भनाइ छ ।

चिकित्सकहरूका अनुसार समयमै पहिचान र उपचार गर्न सके ब्लड क्यान्सर नियन्त्रण सम्भव हुन्छ । नेपालमै पनि उपचार सुविधा विस्तार भइरहेकाले धेरै बिरामीले स्वदेशमै उपचार गराइरहेका छन् ।

भूमिकाको कथा अहिले एउटा बालिकाको मात्र नभई आर्थिक अभाव र गम्भीर रोगबीच संघर्ष गरिरहेका धेरै नेपाली परिवारको प्रतिनिधि कथा बनेको छ । परिवारले सहयोगी मनहरू, संघसंस्था र समाजसँग उपचारमा आर्थिक सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।