काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहबीच पार्टी एकता गर्ने सहमति भएको छ।
गएराति अबेरसम्म भएको दुई पक्षीय निर्णायक वार्तापछि एकता प्रक्रियामा जाने सहमति जुटेको हो। किराती निकट स्रोतका अनुसार एकीकृत पार्टीमा सुदन किरातीलाई ‘वरिष्ठ नेता’को भूमिका दिने समझदारी बनेको छ।
सहमतिअनुसार आजै राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ। एकता घोषणासँगै नयाँ कार्यसमिति र भावी रणनीतिको बारेमा समेत जानकारी दिइने बताइएको छ।
पूर्वमाओवादी नेतासमेत रहेका किरातीले केही समयअघि मात्रै प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका थिए। पछिल्लो समय स्वतन्त्र र वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका किरातीले गत निर्वाचनमा पनि साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई सघाएका थिए।
श्रम र संस्कृतिलाई मुख्य एजेन्डा बनाएर अघि बढेका साम्पाङ र किरातीबीचको यो एकतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।