विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबीच आज विराटनगरमा भेटवार्ता भएको छ। मुख्यमन्त्री कार्कीको निवासमा भएको उक्त भेटघाटमा दुई प्रदेशबीचको आपसी सहकार्य, सम्बन्ध र समृद्धिका विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
भेटका क्रममा दुई मुख्यमन्त्रीबीच विराटनगर र पोखरालाई सिधा हवाई सम्पर्कले जोड्ने विषयमा विशेष कुराकानी भएको छ। विराटनगर–पोखरा हवाई सेवा सञ्चालन गर्ने तथा पोखरा आएका पर्यटकहरूलाई कोशी प्रदेशका हिमशृङ्खलाहरूको दृश्यावलोकन (माउन्टेन फ्लाइट) गराउने वातावरण मिलाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।
पर्यटकीय दृष्टिकोणले दुवै प्रदेश उत्तिकै महत्त्वपूर्ण रहेकाले पर्यटन क्षेत्रमा सहकार्य गर्न सके आर्थिक समृद्धि हासिल गर्न ठूलो मद्दत पुग्ने विश्वास मुख्यमन्त्रीद्वयले व्यक्त गर्नुभयो। गण्डकीको पोखरा र कोशीको हिमाललाई जोडेर पर्यटन प्याकेजहरू बनाउन सके दुवै प्रदेशले लाभ लिन सक्ने उनीहरुको ठहर छ।
कोशी प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवनकुमार कार्कीका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे व्यक्तिगत भ्रमणका सिलसिलामा आज विराटनगर आएका हुन् । सोही अवसरमा दुई प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक र प्रादेशिक विकासका साझा मुद्दाहरूमा समेत अनौपचारिक छलफल भएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।