लोड हुँदैछ...

मेनु

साना र स्थानीय मिडियालाई सरकारले संरक्षण गर्छः मुख्यमन्त्री कार्की

साना र स्थानीय मिडियालाई सरकारले संरक्षण गर्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साना र स्थानीय सञ्चार माध्यमहरूको मर्कालाई सम्बोधन गर्न प्रदेश सरकारले विज्ञापनहरूको समानुपातिक र व्यवस्थित वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित ‘प्रादेशिक पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीय सरकारको विज्ञापन नीतिले निजी क्षेत्र र सञ्चार माध्यमलाई पारेको नकारात्मक असरप्रति सरकार सचेत रहेको बताएका हुन् । उनले प्रदेश सरकारले आफ्नै स्रोत र संयन्त्रमार्फत मिडियालाई ठोस सहयोग गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले ‘कोशी प्रदेश आम सञ्चार प्रतिष्ठान ऐन’ पारित भइसकेको जानकारी दिँदै आगामी साउन १ गतेदेखि उक्त प्रतिष्ठान पूर्ण रूपमा कार्यान्वयनमा आउने घोषणा गरे । “प्रतिष्ठानका लागि आवश्यक बजेट, कार्यालय र जनशक्तिको व्यवस्थापन गरिनेछ, जसले पत्रकारहरूको क्षमता विकास र मिडियाको संस्थागत सुदृढीकरणमा काम गर्नेछ,” उनले भने ।

सम्बोधनका क्रममा उनले पत्रकारिता क्षेत्रलाई सरकारको अन्धभक्त नभई तथ्यमा आधारित आलोचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । उनले भने, “हाम्रा कमजोरीहरूलाई तथ्यसहित औँल्याइदिनुस्, जसले सरकारलाई सुध्रने मौका दिन्छ । तर, बिना तथ्य कसैको चरित्र हत्या गर्ने र समाजमा भ्रम छर्ने पत्रकारिताबाट भने बच्नुपर्छ ।” मुख्यमन्त्रीले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउन प्रदेशले आफ्नै कपडा (खद्दर, अल्लो) उत्पादन र प्रयोगमा जोड दिएको भन्दै यस्ता सकारात्मक काममा सञ्चार माध्यमको साथ दिन आग्रह गरे ।

कार्यक्रममा समावेशी प्रतिनिधित्वका आधारमा २० वर्षभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय ८ जना पत्रकारहरूलाई जनही एक लाख रुपियाँ नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । सम्मानित हुनेहरूमा सुनसरीका गोपाल दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, मोरङका शेखर रेग्मी र श्यामसुन्दर सुतिहार रहेका छन् ।

त्यसैगरी झापाकी रेजिना गौतम, धनकुटाका सन्तोष रुचाल, सिद्धराज राई र सोलुखुम्बुका पत्रकार मनोज श्रेष्ठलाई पनि मुख्यमन्त्री कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सम्मान गरे ।

मन्त्री पराजुलीले प्रदेश सरकार पत्रकारहरूको वृत्ति विकास र भौतिक सुरक्षाका लागि सधैँ तत्पर रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का, मोरङका अध्यक्ष सुशिला पाठकलगायतले शुभकामना व्यक्त गरे । उनीहरुले सञ्चार माध्यमको आर्थिक संकट टार्न सरकारले ठोस अभिभावकत्व लिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।