लोड हुँदैछ...

मेनु

महेन्द्र राजमार्ग विस्तार कहाँ कति हुँदैछ ?

महेन्द्र राजमार्ग विस्तार कहाँ कति हुँदैछ ?

विराटनगर । नेपालको पूर्व–पश्चिम जोड्ने मुख्य राजमार्ग (महेन्द्र राजमार्ग)लाई चार लेनमा विस्तार गर्ने कार्य अहिले विभिन्न चरणमा छ । सडक विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार केही खण्डहरू वर्षौँदेखि थलिएका छन् भने केही खण्डमा भर्खरै काम सुरु भएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग र नेपाल सरकारको लगानीमा सञ्चालित यो बृहत् आयोजनाले नेपालीको सहज यात्रा र ढुवानीको सपना बोकेको छ । महेन्द्र राजमार्गको सडक र पुल गरी १४ वटा प्याकेजको प्राप्त विवरण अनुसार तीमध्ये ४ वटा सडक खण्डको म्याद पटक पटक थप्दा राज्यलाई १ अर्ब ३७ करोड ४९ लाख ७४ हजार रुपैयाँ लागत थप भएको छ । १४ वटै आयोजनाको जम्मा लागत १ खर्ब १ अर्ब ४५ करोड ४१ लाख २८ हजार रहेको छ ।

लागत बढेका आयोजनाहरुमा नारायणघाट बुटवल सडक खण्डको दुईवटा ठेक्का र कन्चनपुर कमला रोडको दुईवटा ठेक्का रहेको छ । सबैभन्दा बढी आलोचना खेपिरहेको नारायणघाट बुडबल खण्डको काम सन् २०१९ देखि सुरु भएको हो । चिनियाँ कम्पनीले जिम्मा पाएको यो आयोजनामा चार पटक म्याद थप भइसकेको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, बेइजिङले २०१८ डिसेम्बर १९ मा ठेक्का सम्झौता रगरेर २०१९ फेब्रुअरी ७ देखि काम सुरु गरेको थियो । यो खण्डको लागत अनुमान १२.०३ अर्ब भएपनि ठेक्का सम्झौता ९ अर्ब १३ करोडमा लागेको थियो । यसको भौतिक प्रगति ८१ छ भने वित्तीय प्रगति ७३.२४ प्रतिशत छ । यस्तै यसको पटक पटक म्याद थप गर्दा लागत मूल्य बढेर ९ अर्ब ७५ करोड पुगेको छ । यसको अन्तिम म्याद २०२६ जुलाई २३ सम्म रहेको छ ।

यस्तै सोही राजमार्गको दोस्रो खण्डको लागत अनुमान ९ अर्ब ७२ करोड थियो । ठेक्का सम्झौता भने ७ अर्ब ८६ करोडमा भयो । हालसम्म उक्त सडकको भौतिक प्रगति ८२.२७ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ७२.६७ प्रतिशत रहेको छ । यो सडक खण्डको पनि काम सम्पन्न गर्ने समयावधी २०२६ जुलाई २१ सम्म छ । ४२ महिनामा सक्ने सुरुवाती लक्ष्य भए पनि यो आयोजना अहिले छैटौँ वर्षमा प्रवेश गरेको छ । सुरुको लागत बढेर उक्त सडकको हाल लागत मूल्य ७ अर्ब ९८ करोड पुगेको छ । यी दुवै खण्ड निर्माणको ढिलाइले मूल्य मात्रै बढेको नभएर बुटवल–नारायणगढ यात्रा गर्ने हजारौँ यात्रुले दैनिक धुलो, हिलो र घण्टौँको जाम खेप्नु परिरहेको छ ।

महेन्द्र राजमार्गको अर्को महत्वपूर्ण भाग कञ्चनपुर–कमला खण्ड हो । जहाँ चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ । ८७ किलोमिटर लामो यो सडकलाई पनि दुई प्याकेजमा बाँडिएको छ । सन् २०२० जुन २५ मा सम्झौता भई अक्टोबरबाट काम सुरु भएको यो आयोजना ३६ महिनामा सक्ने लक्ष्य थियो । तर, यहाँ पनि म्याद थपको सिलसिला रोकिएको छैन ।

हालसम्म तीन पटक म्याद थप भइसकेको यो आयोजनाको संशोधित म्याद सन् २०२६ जुन ३० सम्म कायम गरिएको छ । पहिलो प्याकेजको भौतिक प्रगति ६८.११ प्रतिशत र दोस्रोको ६७.७२ प्रतिशत रहेको छ । लागतको हिसाबले पहिलो प्याकेज ७ अर्ब २७ करोड ७६ हजार २ सय ३४ रुपैयाँमा सम्झौता भएपनि यसको लागत बढेर हाल ७ अर्ब ४९ करोड पुगेको छ । यस्तै दोस्रो प्याकेज ८ अर्ब ३८ करोड ९९ लाख ६८ हजार ७ सय ४८ रुपैयाँको ठेक्का सम्झौता भएपनि लागत बढेर ८ अर्ब ८० करोड पुगेको छ । यो दुवै सडक खण्डको भौतिक प्रगति क्रमशः ६८ प्रतिशत र ६७ प्रतिशत छ ।

राजमार्गको पूर्वी भाग काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर खण्डमा भने भर्खरै मात्र निर्माणको चहलपहल सुरु भएको छ । यो खण्डलाई पाँचवटा प्याकेजमा विभाजन गरिएको छ । सन् २०२३ अक्टोबरमा सम्झौता भई २०२४ फेब्रुअरी २ देखि काम सुरु भएका यी आयोजनाहरूको म्याद ३६ महिना अर्थात् २०२७ फेब्रुअरीसम्म रहेको छ ।

काँकडभिट्टादेखि सुरु हुने पहिलो खण्डमा ‘इभ्रास्कन/कालिका जेभी’ ले १० अर्ब ६ करोड ९४ लाख ८२ हजार ७ सय १२ रुपैयाँमा ठेक्का लिएको छ । यसको भौतिक प्रगति हालसम्म ४२.३२ प्रतिशत पुगेको छ । तर, अन्य खण्डहरूमा भने प्रगति सुस्त छ । सीआरएफजी–टुन्डी जेभीले जिम्मा पाएको दोस्रो खण्डमा ३९.९ प्रतिशत प्रगति छ भने कोभेक–सीआरईजीसी–टुन्डी जेभीले जिम्मा पाएका अन्य तीनवटा खण्ड र प्रमुख पुलहरूको निर्माण कार्य २० देखि ३३ प्रतिशतको बीचमा सीमित छ । विशेषगरी रतुवा, बक्राहा र लोहेन्द्रा जस्ता ठूला पुलहरूको निर्माणमा ३३.६७ प्रतिशत मात्रै रहेको छ ।

यस्तै सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा (डीसीआईडी) अन्तर्गत सञ्चालित आयोजना अनुसार मधेश प्रदेशमा पर्ने सडक खण्डहरूको काम तुलनात्मक रूपमा स्थिर छ ।

कमला–बागमती ७७ किलोमिटर सडक विस्तारका लागि तीनवटा लटमा ठेक्का लागेको छ । लट–१ (कमला–बागमती) को जिम्मेवारी भारतीय कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले ५ अर्ब ७९ करोड ३७ लाख ८५ हजार ९ सय ९२ रुपैयाँमा पाएको छ । सन् २०२४ सेप्टेम्बर २७ मा सम्झौता भएको यस आयोजनाको भौतिक प्रगति २६.१२ प्रतिशत छ । त्यस्तै, लट–२ र लट–३ को जिम्मेवारी एसडब्लूईजी–आरसीसी जेभीले पाएको छ । यी दुई लटको कुल ठेक्का रकम १३ अर्ब १७ करोड रुपैयाँभन्दा बढी छ । सन् २०२४ सेप्टेम्बर ९ मा सम्झौता भएका यी आयोजनाहरूको भौतिक प्रगति हालसम्म २३ प्रतिशतको हाराहारीमा छ । यी सबै आयोजनाहरू सन् २०२७ डिसेम्बर ३१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लुम्बिनी प्रदेशमा पर्ने बुटवल–गोरुसिङ्गे ५० किलोमिटर खण्डको विस्तार कार्य पनि सुरुवाती चरणमै छ । यहाँ साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशिष निर्माण सेवाले संयुक्त ठेक्का लिएर काम गरिरहेको छ । दुईवटा लटमा विभाजित यो आयोजनाको कुल ठेक्का रकम १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ७१ रुपैयाँ रहेको छ । सन् २०२४ जुन २५ मा सम्झौता भएको यो आयोजनाको भौतिक प्रगति २१.८५ प्रतिशत (लट–१) र २३.३५ प्रतिशत (लट–२) रहेको छ । यो सडक खण्ड सन् २०२७ अक्टोबर २० सम्ममा सम्पन्न गर्ने सम्झौता छ ।

तर, सबै खण्डमा काम सुरु भइसकेको भने छैन । बागमतीदेखि पथलैयासम्मको ५३ किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्मको १९.२ किलोमिटर सडक खण्ड अझै पनि खरिद प्रक्रियामै अड्किएका छन् ।

महेन्द्र राजमार्ग विस्तारमा देखिएको अर्को चुनौती भनेको सवारी साधनको चाप र ट्राफिक व्यवस्थापन हो । डीसीआईडीको प्रतिवेदन अनुसार, कमला–बागमती खण्डमा मात्रै दैनिक १ हजार ३ सयभन्दा बढी ठूला बस र १७ हजारभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन गुड्ने गर्छन् । यस्तै कोशी ब्यारेजदेखि झापाको काँकडभिट्टासम्मको १३४ किलोमिटर सडक खण्डमा दैनिक हजारौं सवारी साधन आवत–जावत गरिरहन्छन् । सन् २०१८ को सडक विभागको तथ्याङ्क अनुसार यो खण्डमा दैनिक १ लाख भन्दाबढी सवारी साधन गुड्ने देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।