लोड हुँदैछ...

मेनु

सुकुम्बासी बस्तीमा डोजर चलाएको विरुद्ध दमकमा प्रदर्शन

सुकुम्बासी बस्तीमा डोजर चलाएको विरुद्ध दमकमा प्रदर्शन

दमक । सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा ५ का स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

झापा–५ अन्तर्गत दमक नगरपालिका र कमल गाउँपालिकाका भूमिहीन सुकुम्बासीहरू लगातार प्रदर्शनमा उत्रिँदै सरकारको निर्णयको विरोध गरिरहेका छन्।

सोमबार कमल गाउँपालिकामा प्रदर्शन गरेका स्थानीयहरूले बुधबार दमकमा सरकारविरुद्ध नाराबाजीसहित विरोध प्रदर्शन गरे । उनीहरूले वैकल्पिक व्यवस्था नगरी वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट आफूहरुलाई जबर्जस्ती हटाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

फागुन २१ को निर्वाचनमा बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा–५ बाट पराजित गरेका थिए। अहिले सोही क्षेत्रमा सुकुम्बासीहरू सरकारकै कदमविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बालेनले निर्वाचनमा गरेको प्रतिबद्धता विपरित चुनाब जितेपछि भूमिहिनमाथि ज्यादती गरेको उनीहरुको भनाइ छ ।

अखिल नेपाल सुकुम्बासी संघको आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै विरोध जनाएको थियो । दमक क्षेत्रमा सुकुम्बासीको बाक्लो बसोबास रहेको छ।

दमक नगरपालिकाका मेयर राम थापाका अनुसार दमक ६ हजार ४ सयभन्दा बढी सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन्। मेयर थापाले प्रशासनले डोजर चलाउने तयारी गरेपनि हचुवाका भरमा कुनै संरचना भत्काउन नदिने बताउँदै आएका छन् ।

कमल गाउँपालिकामा पनि भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा प्रदर्शन भएको थियो। सुकुम्बासीहरूले बुझाएको ज्ञापनपत्रपछि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले तत्काल डोजर नचलाउने प्रतिबद्धता जनाएका थिए।

पालिकाले सबै वडाहरूमा तथ्यांक संकलनको काम गरिरहेको र हतारोमा कुनै निर्णय नलिइने जनाएको छ। यता, झापाको बिर्तामोडमा पनि सुकुम्बासी संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।