विराटनगर । कक्षा १२ को जारी वार्षिक परीक्षाको मर्यादामाथि गम्भीर प्रश्न उठेपछि मोरङमा सुरक्षा संयन्त्र र परीक्षा बोर्डले सक्रियता बढाएका छन् । विराटनगर र सुनसरीका केही नाम चलेका निजी विद्यालय (कलेज) हरूले आफ्ना विद्यार्थीलाई पास गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्ष नै ‘किन्ने’ गरेको गम्भीर आशंकामा प्रहरीले गोप्य रूपमा अनुसन्धान सुरु गरेको छ ।
अनुगमनका क्रममा ‘संस्थागत सेटिङ’ मार्फत चिट चोराउने गरिएको आशंकापछि प्रहरीले अनुसन्धान अगाडी बढाएको हो ।
२० जना केन्द्राध्यक्षहरूलाई राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले स्पस्टीकरण सोधेको छ । बोर्डले ती केन्द्राध्यक्षहरूलाई २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए वा आगामी परीक्षामा पुनः गल्ती दोहोरिएमा उनीहरूलाई तत्काल बर्खास्त गरी वैकल्पिक व्यवस्था गर्ने चेतावनी दिइएको छ।
अनुगमनका क्रममा बरामद गरिएका चिटहरूको प्रकृति हेर्दा यो कुनै विद्यार्थीले व्यक्तिगत रूपमा गरेको प्रयास नभई कुनै गिरोह वा दक्ष व्यक्तिले व्यावसायिक रूपमा तयार पारेको देखिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार बरामद भएका चिटहरू कुनै प्रेस वा कम्प्युटरमा दक्ष व्यक्तिले गाइड र गेस पेपरहरूलाई ‘मिनिमाइज’ (अत्यन्तै सानो) बनाएर प्रिन्ट गरेको जस्तो देखिन्छ ।
प्रजिअ कटेलले भने, ‘जिल्लाभर नै चिटको प्रकृति एकै रूपको देखिएको छ । यसले के संकेत गर्छ भने यो कुनै योजनाबद्ध ढंगले तयार पारिएको सामग्री हो । यस्ता गतिविधिमा संलग्न गिरोहबारे हामीले सूक्ष्म रूपमा सूचना संकलन गरिरहेका छौँ ।’
परीक्षा केन्द्र रहेका केही सरकारी र निजी विद्यालयका केन्द्राध्यक्षहरूले निजी कलेजहरूसँग पैसा लिएर उनीहरूका विद्यार्थीलाई चिट चोर्न छुट दिएको हुनसक्ने सुरक्षा निकायको अनुमान रहेको छ ।
बोर्डका निर्देशक प्रकाशकुमार खरेलले मोरङका १४ वटासहित सुनसरीका केही केन्द्रहरूमा अत्याधिक चिट चोराएको पाइएको जानकारी दिए । उनका अनुसार सोमबार र मंगलबार ५ वटा विशेष टोलीले गरेको आकस्मिक निरीक्षणका क्रममा केन्द्राध्यक्ष र निरीक्षकहरूकै प्रत्यक्ष संरक्षणमा अमर्यादित गतिविधि भएको भेटिएको थियो । खरेलले भने, ‘अहिलेसम्म १०–१२ जना केन्द्राध्यक्षले गल्ती नदोहो¥याउने प्रतिबद्धतासहित स्पष्टीकरण बुझाइसक्नुभएको छ । अब बाँकी रहेका ३ वटा विषयको परीक्षालाई पूर्ण रूपमा मर्यादित बनाउन हामी प्रतिवद्ध छौँ ।’
परीक्षामा भइरहेको यो संगठित ‘अपराध’ मा आर्थिक लेनदेनको आशंका भएपछि स्थानीय प्रहरीलाई अनुसन्धान गर्न भसिकेको मोरङका प्रजिअ कटटेलले बताए । आर्थिक लेनदेनको विषय पुष्टि भएमा यसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई समेत छानबिनका लागि अनुरोध गर्न सकिने बोर्डको तयारी छ ।
विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरी १० वटा जिल्लाका ६० हजार ७५ जना परीक्षार्थीहरूको व्यवस्थापन गरिरहेको छ । हालसम्म बोर्डको टोलीले २४ वटा विद्यालयमा पुगेर निरीक्षण गरिसकेको छ । बाँकी ४ जिल्लाहरू (उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु) को जिम्मेवारी भने लहानस्थित कार्यालयले हेर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।