लोड हुँदैछ...

मेनु

डोजर अभियानविरुद्ध देशव्यापी आन्दोलन घोषणा

डोजर अभियानविरुद्ध देशव्यापी आन्दोलन घोषणा

विराटनगर । नेपाल बसोबास बस्ती संरक्षण समाज ले ५ बुँदे माग अघि सार्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ। सरकारले सुकुम्बासी बस्तीहरूमा चलाएको डोजर अभियानको विरोधमा समाजले सशक्त आन्दोलन सुरु गर्ने जनाएको हो।

समाजले माग पूरा गराउन दुई चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पहिलो चरणमा भेला, प्रदर्शन, राजनीतिक दलहरूसँग अन्तरक्रिया, ज्ञापनपत्र बुझाउने तथा शान्तिपूर्ण प्रतिकारका कार्यक्रम समावेश गरिएको छ।

समाजका अध्यक्ष कुमार कार्की द्वारा हस्ताक्षरित विज्ञप्तिमा पहिलो चरणबाट माग सम्बोधन नभए दोस्रो चरणमा अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।

समाजले काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा कुनै विकल्प र पर्याप्त छानबिन बिना नै घरहरू भत्काइएको भन्दै आपत्ति जनाएको छ। यसबाट दशकौँ पुराना बस्तीहरू उजाडिएको, ठूलो भौतिक क्षति भएको र केहीले ज्यानसमेत गुमाएको दाबी गरिएको छ।

समाजले अघि सारेका मागहरूमा बिना विकल्प उठिबास गरिएका संरचनाको उचित मूल्याङ्कन गरी क्षतिपूर्तिसहित पुनःस्थापना, जोखिमयुक्त क्षेत्रको निष्पक्ष छानबिन, ज्यान गुमाएका परिवारलाई राहत, सुकुम्बासी पहिचानको स्पष्ट मापदण्ड र भूमि स्वामित्व सुनिश्चितता समावेश छन्।

यस्तै, एक वर्षभित्र देशलाई सुकुम्बासीमुक्त घोषणा गर्ने कार्ययोजना ल्याउन तथा संविधानले सुनिश्चित गरेको आवासको हक कार्यान्वयनका लागि स्पष्ट कानुनी व्यवस्था बनाउन सरकारसँग आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।