लोड हुँदैछ...

मेनु

प्रधानन्यायाधीश नियुक्तिको तयारी, संवैधानिक परिषद् बैठक आह्वान

प्रधानन्यायाधीश नियुक्तिको तयारी, संवैधानिक परिषद् बैठक आह्वान

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेसँगै नयाँ प्रधानन्यायाधीश को बन्छ भन्ने विषयमा चासो बढेको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष शाहको निर्देशनमा बिहीबारका लागि बैठक बोलाइएको छ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो। यसअघि न्याय परिषद्ले प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेपनि नियुक्त हुन सकेको छैन ।

प्रकाशमान सिंह राउत उमेरहदका कारण अवकाशमा गएपछि पवरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत छिन्। नयाँ प्रधान न्यायाधीशको लागि मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ ।

नेपालको संविधान को धारा १२९ अनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य हुन्छ। सोही प्रावधानअनुसार परिषद्ले सबै योग्य न्यायाधीशको नाम सिफारिस गरेको हो। तर, अहिलेसम्म वरिष्ठतम् न्यायाधीशलाई पन्छाएर प्रधानन्यायाधीश नियुक्त भएको छैन ।

विगतमा संवैधानिक परिषद्ले वरिष्ठताको आधारमा प्रधानन्यायाधीश सिफारिस गर्दै आएको थियो । यसपटक सिफारिस गरिएका ६ जनामध्येबाट कसैलाई पनि चयन गर्न सक्ने बताइन्छ । सरकारले प्रधानमन्त्रीको इन्छा अनुसार संवैधानिक नियुक्तिको लागि अध्यादेश जारी गरेकोले पनि प्रधानन्यायाधीशमा वरिष्ठता मिचिने संभावना रहेको बताइन्छ ।

वरिष्ठताको परम्परा कायम नराखेमा न्यायालयको गरिमा कमजोर हुने चेतावनी कानुनविद्हरुले दिएका छन् । संवैधानिक परिषद्को सिफारिस अनुसार राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्ति हुनुअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्नेछ ।

वरिष्ठताका आधारमा निर्णय गरिएमा हाल कामु प्रधानन्यायाधीश रहेकी सपना प्रधान मल्ल नै प्रधानन्यायाधीश बन्नेछिन् । उनी नेपालको दोस्रो महिला प्रधान न्यायाधीश हुनेछिन् । यसअघि शुशिला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।