लोड हुँदैछ...

मेनु

मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीको तालाबन्दी, ३ जना पक्राउ

मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीको तालाबन्दी, ३ जना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययनरत बी फार्मेसीका विद्यार्थीहरूले विभिन्न १६ बुँदे माग राख्दै मंगलबार राती विश्वविद्यालयमा तालाबन्दी र प्रदर्शन गरेका छन् । विश्वविद्यालयको स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेजका विद्यार्थीहरूले शैक्षिक तथा प्रशासनिक अव्यवस्थाविरुद्ध टायर बालेर विरोध जनाएका हुन् ।

चिकित्सा शिक्षा आयोग र नेपाल फार्मेसी काउन्सिलको मापदण्ड अनुसार शैक्षिक वातावरण हुनुपर्ने माग गर्दै विद्यार्थीहरूले गत वैशाख ८ गते नै उपकुलपति र कलेज प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । माग सम्बोधनमा प्रशासनले बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।

विद्यार्थीहरूले दक्ष र विशेषज्ञ शिक्षकको अभाव रहेको, काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूबाट पठनपाठन भइरहेको र भौतिक पूर्वाधार पर्याप्त नरहेको आरोप लगाएका छन् । बी फार्मेसीका लागि छुट्टै शैक्षिक भवन नहुँदा इन्जिनियरिङ ल्याब र अडिटोरियम हलमा कक्षा लिनुपर्ने बाध्यता रहेको विद्यार्थीहरूको गुनासो छ ।

यस्तै, फार्मेसी शिक्षाका लागि अनिवार्य मानिने मोडल फार्मेसी स्थापना नगरिएको, पुस्तकालयमा पर्याप्त पुस्तक र अध्ययन सामग्री नभएको तथा पाठ्यक्रमसमेत मनोमानी ढंगले परिवर्तन गरिएको उनीहरूको दाबी छ । विद्यार्थीहरूले संकायमा डिन र विभाग प्रमुखको स्पष्ट व्यवस्था नहुँदा प्रशासनिक कार्यमा अन्योल छाएको बताएका छन् । उनीहरूले विद्यार्थी कल्याण कोष, स्वास्थ्य सेवा कोष र व्यवस्थित छात्रावासको समेत माग गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति डा. सुवास पोखरेलले विद्यार्थीका अधिकांश मागहरू पूरा गर्न सकिने प्रकृतिका भए पनि विश्वविद्यालयमा रजिस्ट्रार पद रिक्त हुँदा प्रशासनिक र आर्थिक निर्णयमा समस्या भएको बताए । ‘दक्ष शिक्षकका लागि हामीले पटक–पटक विज्ञापन आह्वान गर्‍यौँ, तर मापदण्ड अनुसारका प्राध्यापकहरू उपलब्ध हुन सकेनन्,’ उनले भने, ‘केही मागहरू कार्यान्वयनको चरणमा छन्, तर विद्यार्थीहरू बाहिरी उक्साहटमा आएर आन्दोलनमा उत्रिएका हुन् कि भन्ने देखिन्छ ।’

आन्दोलनरत विद्यार्थीहरूले वार्ताका लागि उपकुलपति आफैँ सडकमा आउनुपर्ने सर्त राखेपछि केही समय उनी कार्यकक्षमै थुनिएका थिए । कलेजको मुख्य गेटमा लगाइएको ताला भने कर्मचारीहरूले फोडेका छन् ।
प्रदर्शन र तालाबन्दीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।