लोड हुँदैछ...

मेनु

सार्वजनिक जग्गाको अतिक्रमण हटाउन प्रशासनको सक्रियता

सार्वजनिक जग्गाको अतिक्रमण हटाउन प्रशासनको सक्रियता

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङ ले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता बढाएको छ।

प्रशासनले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।

प्रशासकीय अधिकृत प्रभात ढकालद्वारा हस्ताक्षरित पत्रमा अतिक्रमित जग्गा पहिचान गर्नुका साथै ती जग्गा खाली गराउने ठोस योजनासमेत पेस गर्न भनिएको छ। प्रशासनले विवरणको ‘हार्ड’ र ‘सफ्ट’ दुवै प्रति माग गरेको छ।

गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनका आधारमा प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। उनका अनुसार सरकारको नीति अनुसार राज्यको नाममा रहेका जग्गा फिर्ता ल्याउने अभियान अन्तर्गत हाल लगत संकलन भइरहेको छ। विवरण प्राप्त भएपछि अवैध संरचना हटाउने काम अघि बढाइने र त्यसअघि सम्बन्धितलाई स्वयं संरचना हटाउन मौका दिइने उनले बताइन्।

जिल्लामा विशेषगरी हलेसी तुवाचुङ नगरपालिका र बराहपोखरी गाउँपालिका क्षेत्रमा बढी अतिक्रमण भएको प्रारम्भिक तथ्यांकले देखाएको छ। त्रिधार्मिकस्थल हलेसी मन्दिर र पर्यटकीय बराहताल आसपासका सार्वजनिक जग्गा व्यक्तिले कब्जा गरेको पाइएको छ।

हलेसी मन्दिर क्षेत्रको जग्गाबारे गुठी संस्थानले यसअघि छानबिन थाले पनि कार्यान्वयन हुन सकेको थिएन। विसं २०७२ मै २९ जनालाई म्याद तामेली गरिएको भए पनि संरचना हटाउने काम अघि बढ्न सकेको थिएन।

त्यस्तै, बराहताल क्षेत्रमा २७ जनाले सार्वजनिक जग्गा मिचेर घरटहरा बनाएको पाइएको छ। गाउँपालिकाले यसअघि डोजर प्रयोग गरी संरचना हटाए पनि पुनः निर्माण गरिएको देखिएको छ। यसपटक भने प्रशासनले कडाइका साथ सरकारी सम्पत्ति संरक्षण गर्ने योजना अघि सारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।