विराटनगर । विराटनगर–९ स्थित पुरानो गुद्री बजारको पहिचान केवल तरकारी र खाद्यान्नमा मात्र सीमित थिएन । यहाँको एउटा विशाल पिपलको रुख र त्यसमुनि ओछ्याइएका चार दर्जन मुडाहरू विराटनगरका बौद्धिक, राजनीतिक र सर्वसाधारणको साझा ‘अड्डा’ थिए । तर, अघिल्लो सातादेखि यो दृश्य फेरिएको छ । महानगरपालिकाले फुटपाथ व्यवस्थापन अभियान चलाएपछि गुद्रीको त्यो चर्चित चिया अड्डाको रौनक हराएको छ ।
महानगरले सडकपेटी र खुल्ला ठाउँमा व्यवसाय गर्न रोक लगाएसँगै स्थानीय अरुण सहनीको चिया पसलका ४० भन्दा बढी मुडाहरू अहिले थन्किएका छन् ।
पिपलको शीतल छहारीमा मुडामा बसेर चियाको चुस्की लिने परम्परामा पूर्णविराम लागेको छ । ‘‘महानगरले बाहिर मुडा राखेर चिया नबेच्न निर्देशन दियो, त्यसपछि सबै मुडा थन्काएँ,’ सञ्चालक अरुणले खिन्न हुँदै भने, ‘अहिले ग्राहक उभिएरै चिया खान्छन्, तर पहिलेको जस्तो गफगाफ र भिड छैन ।’
कुनै समय दैनिक ४ सयदेखि ५ सय जनासम्मको जमघट हुने यो ठाउँमा अहिले मुस्किलले सय–डेढ सय ग्राहक मात्र झुल्किन्छन् । पहिले दैनिक ५० देखि ६० लिटर दूधको चिया बिक्री हुने गरेकोमा अहिले त्यो परिमाण घटेर १०–१५ लिटरमा खुम्चिएको अरुण बताउँछन् । मुडामा बसेर गफिँदै चिया पिउन नपाएपछि ग्राहकहरू अन्तै मोडिएका हुन् ।
यो चिया पसलको कथा अरुणको जन्मभन्दा पनि पुरानो छ । उनका पिता रामविलास सहनीले गुद्रीको साँघुरो गल्लीबाट यो व्यवसाय सुरु गरेका थिए । २०५३ सालमा पिताको निधन भएपछि १४ वर्षकै उमेरमा घरको जिम्मेवारी अरुणको काँधमा आइलाग्यो । उनले बुबाको विरासतलाई ३० वर्षदेखि निरन्तरता दिँदै आएका छन् । ५ रुपैयाँ प्रति–कपबाट सुरु भएको उनको चियाको यात्रा अहिले ३० रुपैयाँसम्म आइपुगेको छ ।
अरुणको यो चिया अड्डामा सर्वसाधारण मात्र होइन, प्रदेशका मुख्यमन्त्रीदेखि महानगरका मेयरसम्मले मुडामा बसेर चिया पिएका छन् । दूध, चिनी र चियापत्तीसँगै सुकमेलको विशेष स्वाद दिने अरुणको आफ्नै शैली छ । ‘‘यहाँ चिया खान टाढा–टाढाबाट मान्छे आउँथे, यो एउटा मिलनविन्दु जस्तै थियो,’’ उनले पुराना दिन सम्झिए ।
महानगरले सहरलाई सुन्दर र व्यवस्थित बनाउन फुटपाथ हटाउने नीति लिएपछि धेरै साना व्यवसायी प्रभावित भएका छन् । सहरको व्यवस्थापन जरुरी भए पनि दशकौँ पुरानो मौलिक परिचय बोकेका यस्ता ‘चिया संस्कृति’ विस्थापित हुँदा विराटनगरको एउटा पुरानो बिरासत मेटिने चिन्ता स्थानीयमा छ । अहिले पिपलको रुख त उस्तै छ, तर त्यसमुनिको त्यो आत्मीय जमघट र मुडाहरूको रन्को भने हराएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।