लोड हुँदैछ...

मेनु

चिकित्सक संघको उपाध्यक्षमा विराटनगरका डा. रोशन खड्का निर्वाचित

चिकित्सक संघको उपाध्यक्षमा विराटनगरका डा. रोशन खड्का निर्वाचित

विराटनगर । नेपाल चिकित्सक संघ (एनएमए) को उपाध्यक्ष एवं कोशी प्रदेश संयोजकमा विराटनगरका डा. रोशन खड्का निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार डा. खड्काले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ७७२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मुलुकभरका चिकित्सकहरूको साझा संस्था एनएमएको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा डा. खड्काले ३ हजार ८ मत प्राप्त गरे । उनका मुख्य प्रतिस्पर्धी डा। टंकप्रसाद बराकोटीले २ हजार २३६ मत ल्याउँदा अर्का उम्मेदवार डा. हरिशंकर कार्कीले ८७८ मत मात्रै पाए । संघको विधानअनुसार उपाध्यक्षमा निर्वाचित भएसँगै डा। खड्काले कोशी प्रदेशको संयोजकको जिम्मेवारी समेत सम्हाल्नेछन् ।

यस पटकको निर्वाचनमा डा. बद्री रिजाल नेतृत्वको प्यानलले कार्यसमितिमा भारी बहुमत हासिल गरेको छ । १९ सदस्यीय केन्द्रीय कार्यसमितिमा अधिकांश पदमा रिजाल प्यानलकै उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा डा. बद्री रिजाल आफैँ निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल विजयी भएका छन् ।

प्यानलगत रूपमा रिजालको टोलीले सातमध्ये पाँच प्रदेशमा वर्चस्व कायम गरेको छ । कोशीमा डा. खड्कासहित मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशी विजयी भएका छन् । गण्डकीमा डा. यज्ञराज सिग्देल र कर्णालीमा डा. रबिन खड्काले जित निकालेका छन्, जो डा. मंगल प्यानलका उम्मेदवार हुन् ।

सदस्य पदतर्फ भने मिश्रित परिणाम आएको छ । ६ जना सदस्यहरूमध्ये डा. रिजालको प्यानलबाट डा. राकेश साह, डा. सुस्मित काफ्ले र डा. बिना श्रेष्ठ निर्वाचित भएका छन् । डा. मंगल प्यानलबाट डा. अमित झा र डा. पल्पसा श्रेष्ठ तथा ‘टिम रिफर्म’ बाट डा. शेषराज घिमिरेले जित हासिल गरेका छन् ।
मुलुकभरका ५६ जना चिकित्सकहरू चुनावी मैदानमा उत्रिएको यस निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।