काठमाडौँ । सरकारले आगामी वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले आगामी बजेट अधिवेशनका लागि वैशाख २८ गतेको मिति सिफारिस गरिएको बताए । यसअघि सरकारले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरे पनि त्यसको भोलिपल्टै उक्त निर्णय स्थगित गरिएको थियो ।
मुख्यतया आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नका लागि सरकारले यो अधिवेशन आह्वान गरेको हो । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते अनिवार्य रूपमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । बजेट ल्याउनुपूर्व संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्ने संसदीय अभ्यास रहेको छ ।
मन्त्रिपरिषद्को यो सिफारिससँगै राष्ट्रपतिले संवैधानिक व्यवस्था अनुसार संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गर्नेछन् । आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल र वार्षिक बजेटका विषयले प्राथमिकता पाउनेछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।