लोड हुँदैछ...

मेनु

दलीय झोला र झण्डाले प्रणाली ध्वस्त पार्‍यो : प्रधानमन्त्री

दलीय झोला र झण्डाले प्रणाली ध्वस्त पार्‍यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त बनाउन सरकारले अध्यादेशमार्फत कठोर कदम चालेको घोषणा गरेका छन्। वर्षौँदेखि जकडिएको दलीय भागबन्डा र ‘झोला बोक्ने’ प्रवृत्तिका कारण देशको प्रणाली नै ध्वस्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अब योग्यता र क्षमतालाई मात्रै प्राथमिकता दिइने स्पष्ट पारेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीतन्त्रमा भएको पार्टीकरणले देशलाई निकै ठूलो क्षति पुर्‍याएको बताएका छन्। उनले विगतमा धेरै संगठनहरू विद्यार्थी र कर्मचारीको हितमा काम गर्नुभन्दा पनि राजनीतिक दलका ‘स्लिपर सेल’का रूपमा मात्रै सक्रिय रहेको टिप्पणी गरे। ‘योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो,’ प्रधानमन्त्रीले लेखेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसकेर नभई भविष्य सुधार्न गरेको उनको तर्क छ। चाहने हो भने आजकै दिनमा ठूला संगठन बनाउन सकिने भए पनि अर्को दलीय संगठन थप्दैमा शिक्षाको गुणस्तर नबढ्ने र कर्मचारीको सम्मान नजोगिने कुरा विगतका अनुभवले पुष्टि गरिसकेको उनले उल्लेख गरेका छन्। सरकारको यो कदमलाई प्रणाली बचाउने प्रयासका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री शाहले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्न निषेध गरिएको बताएका छन्। यसले कसैको अधिकार नखोस्ने, बरु पेशागत स्वतन्त्रतालाई अझ बलियो बनाउने उनको दाबी छ। अबदेखि नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभएर विधि, क्षमता र दक्षता मात्रै बन्ने उनले उद्घोष गरेका छन्।

प्रधानमन्त्रीले विद्यार्थीहरूले राजनीति सिक्नुपर्ने तर त्यसको माध्यम र स्वरूप फरक हुनुपर्नेमा जोड दिएका छन्। उनले विद्यार्थीले नेताको भीडबाट नभई गुरुबाट राजनीति सिक्नुपर्ने र कर्मचारीले नेताको छहारी खोज्नुको सट्टा विधिको पालना गर्नुपर्ने बताए। विद्यार्थीले सभ्यता, विचार र जिम्मेवारीको राजनीति तथा कर्मचारीले कुनै दलको नभई जनताको सेवा सिक्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। यो प्रयास कुनै निश्चित पार्टीविरुद्धको लडाइँ नभएर देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने ऐतिहासिक कदम भएको सरकारको दाबी छ। जनताको चाहना अनुरूप नै अध्यादेशमार्फत यी विकृतिहरू हटाउन लागिएको जानकारी दिँदै उनले आम नागरिकको साथ र विश्वासको अपेक्षा गरेका छन्। परिवर्तन भाषणले नभई निर्णयले आउने भन्दै उनले आम नेपाली जनताकै हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको र यसमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।