काठमाडौँ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ।
महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने भएपछि बाँकी पदहरूका लागि निर्वाचन हुन लागेको हो। यस पटकको निर्वाचनमा विशेष गरी दुई समूहबीच प्यानलगत प्रतिस्पर्धा देखिएको छ। वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समर्थित समूह र वर्तमान उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहले उपाध्यक्ष तथा कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्।
निर्वाचन समितिले दिएको जानकारी अनुसार महासंघको कुल ७३ पदका लागि १३७ जना व्यवसायीहरूले उम्मेदवारी दिएका छन्। मतदान प्रक्रिया सम्पन्न भए लगत्तै आजै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। यस निर्वाचनले महासंघको आगामी कार्यसमिति र निजी क्षेत्रको नेतृत्व गर्ने नयाँ पदाधिकारीहरूको टुङ्गो लगाउनेछ। आर्थिक मन्दी र व्यावसायिक चुनौतीहरूका बीच हुन लागेको यो निर्वाचनलाई उद्योगी व्यवसायीहरूले निकै चासोका साथ हेरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।