लोड हुँदैछ...

मेनु

‘जनताले सरकारको अनुभूति गर्न पाएनन्’

‘जनताले सरकारको अनुभूति गर्न पाएनन्’

विराटनगर । नेकपा नेतृ तथा कोशी प्रदेशसभाकी पूर्व सांसद सरिता थापा खड्काले देशका असहाय, गरिब र दुःखी जनताले सरकार भएको महसुस गर्न नसकेको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएकी हुन् ।

नेतृ खड्काले दुई तिहाईको सरकार जनताका लागि ‘समस्या’ नभई ‘समाधान’ बन्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरेकी छन् । उनले ‘पुरानो सबै गलत’ भन्ने विकासवादी मानसिकताका कारण देश फेरि अशान्ति र मुठभेडतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

विशेष गरी सुकुम्बासी समस्याका विषयमा सरकारले अपनाएको कदमप्रति लक्षित गर्दै उनले भनेकी छन्, “वास्तविक र अवास्तविक सुकुम्बासीको पहिचान गरी वास्तविकहरूलाई पुनः स्थापना गरेर मात्र अतिक्रमित सरकारी जग्गा खाली गर्नुपर्ने हो, तर सरकार अन्धधुन्ध हिसाबले चल्न खोज्दा अहिलेको स्थिति आएको हो ।”

सरकार सबैभन्दा पहिले गरिब र दुःखीको सहारा बन्नुपर्ने भए पनि जनताले त्यो महसुस र विश्वास गर्ने आधार नपाइरहेको उनको दाबी छ । पुराना राम्रा अभ्यासहरूलाई निरन्तरता दिँदै र गलतलाई सुधार गर्दै अघि बढ्नु नै परिवर्तनको सही बाटो हुने भन्दै उनले सरकारलाई जनअपेक्षा पूरा गर्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।