लोड हुँदैछ...

मेनु

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा सुकुम्बासीको प्रदर्शन: ‘डोजर आतंक’ रोक्न माग

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा सुकुम्बासीको प्रदर्शन:  ‘डोजर आतंक’ रोक्न माग

दमक । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत पर्ने कमल गाउँपालिकामा सोमबार भूमिहीन तथा सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्।

देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर चलाइएको भन्दै उनीहरूले ‘डोजर आतंक’ रोक्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

भूमि अधिकार तथा श्रमिक संगठनको अगुवाइमा भएको प्रदर्शनमा कमल गाउँपालिकाका विभिन्न स्थानबाट सहभागी भएका सुकुम्बासी, भूमिहीन तथा श्रमिकहरूले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्था बिना बस्ती हटाउन नहुने र राज्यले सम्मानजनक जीवनको ग्यारेन्टी गर्नुपर्ने माग राखे। प्रदर्शनकारीहरूले गाउँपालिका कार्यालय पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापनपत्र बुझाएका छन्।

संगठनका अध्यक्ष दीपक गौतमका अनुसार सुकुम्बासीको समस्या समाधान गर्न राज्य गम्भीर नभएको भन्दै दबाब दिन प्रदर्शन गरिएको हो। र्‍यालीपछि आयोजित कोणसभामा वक्ताहरूले केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेको घटनालाई आधार बनाएर समग्र सुकुम्बासी समुदायलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए। उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्न माग गरे।

प्रदर्शनकारीहरूले भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत वास्तविक सुकुम्बासीको पहिचान, व्यवस्थापन र दीर्घकालीन समाधान सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। साथै, बल प्रयोग गरेर समस्या समाधान नहुने भन्दै सरकारलाई सुकुम्बासीप्रति मानवोचित व्यवहार गर्न आग्रह गरेका छन्।

यसअघि धरान, पथरीलगायत क्षेत्रमा पनि यस्तै प्रदर्शन भएका थिए। सुकुम्बासी बस्ती हटाउने सरकारी तयारीविरुद्ध देशभर असन्तुष्टि बढ्दै गएको छ।

सरकार गठन भएको एक महिनामै झापा–५ मा असन्तुष्टि देखिएको छ। कमल गाउँपालिकाका भूमिहीन र सुकुम्बासीहरू सडकमा उत्रिँदै डोजर प्रयोग गरेर बस्ती हटाउने कार्य रोक्न र वैकल्पिक व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा सुरु भएको यो विरोधले सरकारको भूमिनीतिमाथि थप बहस र दबाब सिर्जना गर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।