विराटनगर । देशको पश्चिमी भेगबाट सुरु भएको हुरीबतास र वर्षाको शक्तिशाली प्रणाली अहिले पूर्वतिर सर्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको यो प्रणाली अब कोशी प्रदेशतर्फ केन्द्रित हुन लागेको हो।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार वर्षा गराउने यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले आज रातिबाटै मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा यसको प्रभाव देखिनेछ। यो प्रणाली सक्रिय रहँदा करिब ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हुरी चल्ने र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। विभागले मधेस र कोशी प्रदेशका केही स्थानमा आज रातिदेखि नै मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरेको छ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यसकै कारण देशभरिको मौसममा बदली आएको हो। मौसमविद्हरूका अनुसार यो प्रणाली साताभर नै सक्रिय रहने देखिएको छ। मंगलबार र बुधबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ।
साँझपख वर्षाको वेग केही कम हुने देखिए पनि रातको समयमा पूर्वी क्षेत्रमा मौसम थप बिग्रन सक्ने विभागको पूर्वानुमान छ। हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ। विशेषगरी तराईका जिल्लाहरूमा हुरीबतासको जोखिम बढी हुने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।