लोड हुँदैछ...

मेनु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार दिउँसो १ बजे बस्दै छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक आह्वान गरिएको हो।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा छलफल हुनेछ। विशेषगरी पार्टीभित्र असन्तुष्ट देखिएका नेताहरू पूर्णबहादुर खड्का र डा। शेखर कोइराला समूहसँगको संवाद र छलफललाई आजको बैठकको मुख्य एजेण्डा बनाइएको बताइएको छ।

पार्टीभित्र बढ्दो गुटबन्दी र असन्तुष्टिलाई सम्बोधन गर्दै एकता कायम गर्ने विषयमा कार्यसम्पादन समितिमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन्। बैठकमा समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

यसअघि, गत वैशाख १६ गते बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले गएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने र अन्तर्घात गर्ने सदस्यहरूलाई कारबाहीको प्रक्रिया अघि बढाएको थियो। उक्त बैठकले विभिन्न सदस्यहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। आजको बैठकमा अनुशासन समितिको उक्त कदम र प्राप्त स्पष्टीकरणका विषयमा पनि सामान्य चर्चा हुन सक्ने अनुमान गरिएको छ।

कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी कार्यदिशा तय गर्न आजको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।