लोड हुँदैछ...

मेनु

सरकारी ज्यादतीको विरुद्ध धरानमा सुकुम्वासीको प्रदर्शन

सरकारी ज्यादतीको विरुद्ध धरानमा सुकुम्वासीको प्रदर्शन

धरान । काठमाडौंका खोला किनारका सुकुम्वासी बस्तीमा कुनै योजना र तयारीविना डोजर चलाएको भन्दै सुनसरीको धरानमा त्यसविरुद्ध सुकुम्वासीहरूले प्रदर्शन गरेका छन्।

शनिबार सुनसरीको छाता चोकबाट सुरु भएको विरोध र्‍यालीले धरान बजार परिक्रमा गरेको थियो।

नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुकुम्वासीमाथि गरिएको अमानवीय व्यवहारको विरोध गरे। उचित पुनःस्थापना नगरी डोजर चलाइएको भन्दै उनीहरूले यसलाई दमन र मानवअधिकार उल्लङ्घनको संज्ञा दिएका छन्।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरिएको आरोप लगाए। उनले राज्यले बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरेको भन्दै यस्तो कदम अस्वीकार्य भएको बताए।

प्रदर्शनकारीहरूले संविधानमा व्यवस्था गरिएको आवासको हक सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनमा हजारौँ सुकुम्वासीको सहभागिता रहेको थियो। उनीहरुको प्रदर्शनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि ऐक्यबद्धता जनाएका थिए।

अघिल्लो दिन भएको अन्तरक्रिया कार्यक्रममा श्रम संस्कृति पार्टीलगायत दलहरूले प्रदर्शनमा साथ दिने निर्णय गरेका थिए। धरानका विभिन्न क्षेत्रमा सुकुम्वासी बस्ती फैलिएका छन्। वडा नम्बर १ को खहरे कोरिडोर, वडा नम्बर ३ र ५ को देउराली, वडा नम्बर ११ को मङ्गलवारे–सगरमाथा टोल, वडा नम्बर १३ को राई टोल र अनाम टोल, वडा नम्बर १५ को सर्दु किनार र नीराजन बस्तीमा सुकुम्वासीहरूको बसोबास रहेको छ। यसैगरी वडा नम्बर १६ को सुनौलो बस्ती, नौला बस्ती र वडा नम्बर १७ को डाँडा घोपाको पश्चिम क्षेत्रमा पनि सुकुम्वासीहरू बसोबास गर्दै आएका छन्।

धरानमा हजारौं सुकुम्बासीको बसोबास रहेको छ । बालेन्द्र शाह नेतृत्वको सरकारले देशभरका सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएको भएपनि धरान उपमहानगरपालिका कार्यबहाक प्रमुख आइन्द्रबिक्रम बेघाले त्यसलाई स्वीकार नगर्ने बताइसकेका छन् । विकल्पविना सुकुम्बासीलाईृ बेघर बनाउन नहुने उनको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।