धरान । स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै धरानमा राजनीतिक सरगर्मी सुरु भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं. १ का सांसद हर्क साम्पाङले शनिबार धरान उपमहानगरपालिकाको भावी मेयरका आकांक्षीहरूसँग औपचारिक छलफल थालेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय रहेको धरान–१८ स्थित ‘ग्रिन टी’ मा साम्पाङले मेयर पदमा इच्छा देखाएका नेताहरूसँग संवाद गरेका हुन् । प्रतिनिधि सभाको बैठक स्थगित भएको समय पारेर धरान आएका साम्पाङले केही दिनअघि सामाजिक सञ्जालमार्फत मेयरका आकांक्षीहरूलाई छलफलका लागि खुला आह्वान गरेका थिए ।
सांसद साम्पाङका लागि ‘ग्रिन टी’ होटल राजनीतिक निर्णय गर्ने मुख्य थलो बन्दै आएको छ । यसअघि उनले प्रतिनिधि सभा सदस्यका उम्मेदवारलाई टिकट वितरण र निर्वाचित सांसदहरूलाई अभिमुखीकरण समेत यहीँबाट गराएका थिए ।
साम्पाङको आह्वानपछि छलफलमा पाँच जना आकांक्षीले मेयर बन्ने इच्छा जाहेर गरेका छन् । दाबेदारी प्रस्तुत गर्नेहरूमा धरान–४ का वर्तमान वडा अध्यक्ष धनबहादुर राई र व्यवसायी निमाचन्द्र राई रहेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका धरान नगर अध्यक्ष दिनेश बान्तवा, नगर सचिव प्रेम श्रेष्ठ र केन्द्रीय सदस्य सुमन श्रेष्ठले पनि उम्मेदवारीका लागि तत्परता देखाएका छन् ।
छलफलपछि अध्यक्ष साम्पाङले उम्मेदवार छनोटको यो प्रारम्भिक प्रक्रिया मात्र भएको बताए । ‘अहिले नै उम्मेदवारको टुंगो लागेको छैन,’ साम्पाङले भने, ‘यो पहिलो चरणको छलफल मात्र हो, हामी थप संवाद गर्दै जानेछौँ ।’
२०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर निर्वाचित भएका साम्पाङले गत २०८२ को निर्वाचन अघि पदबाट राजीनामा दिएका थिए । मेयर छाडेर प्रतिनिधि सभामा उम्मेदवारी दिएका उनी सुनसरी–१ बाट विजयी भएपछि गत कात्तिकमा आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गराएका थिए ।
भर्खरै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट जितेर राष्ट्रिय राजनीतिमा उदय भएको साम्पाङको पार्टीका लागि धरानको मेयर पद प्रतिष्ठाको विषय बनेको छ । साम्पाङले आफ्नै बिरासत जोगाउन र पार्टीका तर्फबाट बलियो उम्मेदवार उठाउन बेलैमा गृहकार्य सुरु गरेको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।