लोड हुँदैछ...

मेनु

जथाभावी फोहोर फाल्नेमाथि कडाइ

जथाभावी फोहोर फाल्नेमाथि कडाइ

विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सहरलाई दुर्गन्धित बनाउने व्यक्ति र समूहविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ।

महानगरका अधिकांश वडामा फोहोर व्यवस्थापनमा लापरबाही गर्नेहरूमाथि निगरानी बढाइएको हो।

महानगरपालिकाको सरसफाइ शाखा प्रमुख पुनम दाहालका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्म २४ जनाभन्दा बढीलाई कारबाही गरिसकिएको छ। यो प्रक्रिया अझै जारी रहेको उनले जानकारी दिइन्। विशेषगरी लुकिछिपी बाटो तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने समूहहरूलाई निगरानीमा राखी जरिवाना गरिएको दाहालले बताए ।

उनका अनुसार विद्यालय तथा कलेजहरूले विज्ञापनका सामग्री (कागजात) जथाभावी फाल्ने गरेको पाइएपछि उनीहरूलाई समेत जरिवाना गरिएको छ। यसका साथै केही स्थानमा शौचालयको फोहोर पानी सिधै नालामा मिसाइएको भेटिएपछि त्यसमा पनि कडाइ गरिएको महानगरले जनाएको छ।

सरसफाइ महानगरको मात्र जिम्मेवारी नभई स्थानीय बासिन्दाको पनि साझा दायित्व भएको उल्लेख गर्दै प्रमुख दाहालले सार्वजनिक स्थल, सडक र पार्कमा फोहोर नगर्न आग्रह गरे । “हामी सबै सचेत भई फोहोर व्यवस्थापनमा सहयोग गर्यौँ भने विराटनगरलाई स्वच्छ र सफा सहर बनाउन सकिन्छ,” उनले भने।

महानगरको सरसफाइ शाखाले हालसम्म जरिवानाबापत ८९ हजार २ सय रुपैयाँ राजस्व संकलन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।